अवसरको आहलमा अर्थमन्त्री, बैंकर अशोक शेरचनको लेख

account_box अशोक शेरचन ,
प्रकाशित: २०७७ मङ्सिर ३, बुधबार,०९:११:AM  
 अवसरको आहलमा अर्थमन्त्री, बैंकर अशोक शेरचनको लेख

हुनत जापान धेरै विकसित देश हो । विकासको चरम बिन्दुमा पुगेपछि पनि त्यहाँको अर्थतन्त्र ओरालो लागेको थियो । अनगिन्ती प्रयासहरू गर्दा पनि अर्थतन्त्र उकासिन सकेको थिएन ।

अर्थतन्त्रमा सुधार आउन नसकेपछि त्यहाँ सरकार र प्रधानमन्त्री तारन्तार परिवर्तन भइरहेको थियो । तर, सन् २०१२ मा प्रधानमन्त्रीका रूपमा सिन्जो आवे आएपछि केही परिवर्तिनको आभाष मिल्न थाल्यो ।

कोमामा पुगेका अर्थतन्त्रलाई त्राण दिएर चलायमान बनाउनु सजिलो पक्कै थिएन । तर, सन् २०१३ मा जापानको अर्थतन्त्रमा आमूल परिवर्तन गर्ने उद्देश्यका साथ विस्तारित वित्तीय नीति, गतिशील मौद्रिक नीति र संरचनागत सुधारलाई प्राथमिकता दिएर आएको नीतिले जापानीहरूले एक प्रकारको राहतको महसुस गरे ।

प्रधानमन्त्री आवेले अघि सारेको मुख्य ३ नीतिहरूको कार्यान्वयन पश्चात् जापानी अर्थतन्त्रले दशकौं पछि सुधारको बाटो पहिल्यायो । अहिले यसलाई ‘आवेनोमिक्स’का रूपमा चित्रित गरिएको पाइन्छ ।

कोभिड–१९ का कारण अहिले विश्वकै अर्थतन्त्र आक्रान्त छ र नेपाल त्यसबाट अछुतो रहने कुरै भएन । कोभिड–१९ को असर सबैले अनुमान गरेभन्दा बढी नै लम्बिँदै गएको छ । कतिपय देशमा संक्रमण दोहोरिएर पुनः बन्दाबन्दी (लकडाउन) गर्न थालिएको छ । सबै देशका आर्थिक सूचकांकहरू नकारात्मक दिशातर्फ अघि बढिसकेका छन् ।

अपवादका रूपमा चीनले भने कोरोना संक्रमणमा पनि फाइदा लिन सक्षम भइरहेको छ । विश्वनै अहिले कोरोना महामारीको आयु, प्रभाव र परिणामसँग लगभग अनुमानमा मात्र निर्भर छ । अर्थशास्त्रीहरू पनि कोरोना महामारी र त्यसको परिणामका बारेमा आँकलन गर्न असमर्थ भइरहेका छन् ।

जसले गर्दा अर्थशास्त्रका प्रतिपादित सिद्धान्तहरूलाई पूर्णरूपमा पुनर्लेखन गर्नुपर्ने विषयमा बहस प्रारम्भ गरेका छन् ।
कोरोना महामारीले विश्वमा गरिबीको संख्या बढाउने निश्चित प्रायः देखिएको छ भने असमानताको खाडल पनि गहिरिएर जाने देखिन्छ । किनभने विश्व अब सहभागितामूलक समाजभन्दा पनि एकात्मकतातर्फ ढल्किने सम्भावना बढेर गएको छ ।

यो महामारी नियन्त्रणमा तबसम्म आएको मानिँदैन जबसम्म विश्वबाटै निर्मूल हुँदैन । एउटा देशमा यो नियन्त्रण हुँदैमा ढुक्क भइहाल्ने स्थिति रहँदैन किनभने यसको संक्रमणलाई देशको सिमानाले मात्र नछेकिने रहेछ भन्ने तथ्य जगजाहेर छ ।

यस्तो अवस्थामा विश्व अर्थतन्त्र बलियोसँग पुनर्जीवित नभएसम्म सामान्य अवस्थामा आएको मानिँदैन । एउटा मात्र देशले आफ्नो अर्थतन्त्र बलियो भइसक्यो भनेर ढुक्क हुने अवस्था छँदै छैन किनभने सबै राष्ट्र एकअर्कामा परनिर्भर छन् ।  

कोरोना महामारीकै मध्यान्तरमा नेपालमा पनि नयाँ अर्थमन्त्रीले जिम्मेवारी सम्हालेका छन् । नयाँ अर्थमन्त्रीमा आएका विष्णुप्रसाद पौडेललाई जनमानसले अर्थशास्त्री मान्दैन, यसर्थ अर्थतन्त्रलाई बैतरणी तार्न सक्दैनन् भन्ने मनस्थितिले जरो गाडेको छ ।

तर, ४ वर्षअघि उनी अर्थमन्त्री भएका बेला अर्थतन्त्रले चोला फेरेको देखेकाहरूलाई भने केही आशावादी बनाएको छ । तथ्यांकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको अनुमानअनुसार नेपाली अर्थतन्त्रले महामारीका कारण आगामी दिनमा ठूलो दबाब झेल्नुपर्ने देखिन्छ ।

आर्थिक वृद्धि शून्य वा नकारात्मक हुने परिदृश्य महामारीको अनिश्चित आयूसँगै बढ्दै गएको छ । वर्तमान परिस्थितिमा अर्थतन्त्रलाई बचाएर उकास्न पनि अबका दिनमा अर्थमन्त्रीले लागू गर्ने नीतिहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

राजनीतिका चतुर खेलाडीका रूपमा चिनिएका उनी अर्थतन्त्रका लागि पनि सञ्जीवनीबुटी बन्न सक्ने अवसर प्रशस्त छ । उनीबाट वर्तमानमा नेपालका सबै क्षेत्रले सिन्जो आवेकै जस्तो गतिशील, अग्रगामी र परिणाममूलक भूमिकाको अपेक्षा गरेका छन् ।

अर्थात् अब अर्थमन्त्रीले लिने नीति नेपालको आर्थिक, राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय दातृराष्ट्रहरूले पनि सदैव सम्झने र उदाहरणयोग्य बिपिनोमिक्सका रूपमा आत्मासात गर्ने खालको हुने विश्वास सबैले लिएका छन् ।

बिहानीले दिनको संकेत गर्छ भनेझै उनले प्रारम्भमा लिएका केही निर्णय र चासोले समृद्ध अर्थतन्त्रलाई गोरेटो कोर्न थालिसकेको आभाष हुन्छ । भनिन्छ, हरेक संकटले सम्भावना र अवसर लिएर आएको हुन्छ ।

अर्थमन्त्रीका लागि वर्तमान समय पनि आमूल परिवर्तन ल्याउन सक्ने ठूलो अवसर हो । यस आर्थिक वर्षका २ महिने आर्थिक सूचांकहरूले पनि त्यही कुरालाई इंगित गरेको देखिन्छ ।
वैदेशिक व्यापार :

चालू आर्थिक वर्षको २ महिनाको प्रवृत्तिलाई हेर्दा वैदेशिक व्यापार समग्रमा घटेको छ । तर, निर्यातको अंश भने बढेको छ । भलै निर्यातको अंश आयातको तुलनामा निकै कम भए पनि नेपाली उद्यमीहरूका लागि सकारात्मक सन्देश चाहिँ हो ।

नेपाली निर्यातजन्य उद्योगहरूले सरकारबाट मानसिक, संस्थागत, मौद्रिक र वित्तीय सहयोग पाएको खण्डमा निर्यात हिस्सा अझै बढेर जाने सम्भावना प्रशस्त छ ।

अबको केही समय महामारीले निरन्तरता पाउने भएकाले हामीले घरेलु उत्पादन बढाउन सक्यौं, बजारको व्यवस्था गर्न सक्यौं र वितरण प्रणालीलाई चुस्त राख्दै लगानी बढाउन सक्यौं भने आगामी दिनहरूमा हाम्रो परनिर्भरता अझै घटेर जानेछ ।
सरकारी राजस्व र खर्च :

सरकारको राजस्व संकलन गत आर्थिक वर्षको २ महिनाको भन्दा चालू वर्षमा १४.३० प्रतिशतले घटेको छ । महामारीको  अवस्थामा यसलाई सरकारी सफलता नै मान्नुपर्ने हुन्छ र आगामी दिनमा राजस्व असुली अझ बढेर जानेछ ।

किनभने कोरोना कहरका कारण बन्द भएका अर्थतन्त्रका धेरै क्षेत्रहरू सञ्चालनमा आउन थालिसकेका छन् । अर्थतन्त्रका सारथी मानिने निजी क्षेत्रलाई विश्वासमा लिन सक्ने हो भने सरकारी राजस्वले ठूलो फड्को मार्ने कुरामा दुईमत छैन ।

राजस्व चुहावटका समस्याहरूलाई निजी क्षेत्रसँगको सहकार्यबाटै हल गर्न सकिने भएकाले निजी क्षेत्रलाई नै जिम्मेवार बनाउनुको बिकल्प सोच्नु हुँदैन । करदाताहरूको दायरा विश्वसनीय तवरबाट बढाउँदै निश्चित कार्ययोजनाका साथ अघि बढेमा राजस्व असुलीमा चिन्ता गर्नुपर्ने अवस्था भने छैन ।

समय घर्काएर अन्तिम समयतिर मात्रै सरकारी खर्च गर्ने प्रवृत्तिलाई चिर्नु जरुरी छ । मन्त्रालय र विभाग सँगसँगै प्रदेश र स्थानीय निकायहरूकाबीच पनि समन्वयसहित नतिजा योग्य, उत्पादनशील र जिम्मेवारयुक्त परिवेश निर्माण गरिनु अत्यावश्यक देखिएको छ ।
विप्रेषण आप्रवाह र वैदेशिक लगानी :

नेपालको अर्थतन्त्रमा करिब ३० प्रतिशतको योगदान पु¥याई रहेको रेमिट्यान्स महामारीको अवधीमा पनि बढेको छ । रेमिट्यान्स गत आर्थिक वर्षभन्दा ८.१ प्रतिशतले बढेको छ । त्यस्तै प्रत्यक्ष वैदेशिक लगानीमा पनि करिब २३ प्रतिशतको बढोत्तरी देखिएको छ ।\

यी दुवै क्षेत्रमा देखिएको वृद्धिलाई ह्दयगंम गरी वैदेशिक लगानी र रेमिट्यान्सको प्रवद्र्धन र व्यवस्थापनमा सरकार विशेष सचेत भएर लाग्नुपर्ने देखिन्छ ।
पर्यटन, शिक्षा र स्वास्थ्य :
यी क्षेत्रहरू महामारीका कारणले सबैभन्दा बढी प्रभावित छन् । नेपाल पर्यटनको अपार सम्भावना भएको मुलुक हो । पूर्वाधारहरूको अभावका कारणले पर्यटन क्षेत्रको विकास उच्चतम बिन्दुमा नपुग्दा पनि हजारौं व्यक्तिहरूले यसबाट लाभ लिन सकेका छन् ।

प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता र जातीय छटाहरूका कारण नेपालको पहिचान विश्वभरिनै सुन्दर देशका रूपमा छ । शिक्षा र स्वस्थ्य क्षेत्र नेपालको आन्तरिक स्रोत परिचालन गरेर व्यवस्थापन गर्न सकिने क्षेत्रहरू हुन् ।

हिजोआज इन्टरनेटको माध्यमबाट राम्रै प्रयासहरू देशैभरि गरिएको छ । सरकारले विगतमा सूचना प्रविधिमा गरेको लगानीको परिणाम स्वरूप देशका लगभग सबै तहमा पढाइ सुचारु गरिएको छ ।

यसपालीको महामारी स्वास्थ्यसँग सम्बन्धित भएकाले र विश्वनै समान रूपमा प्रताडित भएकाले विदेशी पर्यटकहरूको आगमनमा भने ठूलो ह्रास आएको छ । जसले गर्दा पर्यटनसँग जोडिएका उद्योगहरू, जनशक्ति र लगानी रकममा जोखिमको मात्रा बढेको देखिन्छ ।

यस्तो समयमा आन्तरिक पर्यटनलाई स्वीकार योग्य स्वास्थ्य मापदण्ड परिपालन गरेर खुला गर्दा अवश्य राहत पुग्छ ।
महामारीकैबीच हिमाल आरोहणका लागि गल्फका देशहरूबाट भएको उच्चस्तरीय भ्रमणबाट पनि हामीले केही सिक्न सक्छौं ।

हामीसँग भएका सम्पदाहरूलाई बाह्य पर्यटकहरूले गर्ने खर्चका आधारमा वर्गीकरण गरी प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । सुरक्षा र गोप्यतालाई धेरैजसो उच्चतहका व्यक्तिहरूले विशेष महत्व दिन्छन् जसका लागि उनीहरू उच्च रकम तिर्न पनि तयार हुन्छन् ।

नेपालका केही सम्पदाहरू विश्वमै दुर्लभ मानिन्छन्, तिनको महत्व बुझेर विश्वका उच्च घरानाहरूलाई प्रवद्र्धन गर्न सकेको अवस्थामा कमाई र संरक्षणमा पनि बल पुग्छ ।
कृषि :
नेपाललाई कृषि प्रधान देशका रूपमा आज पनि हामी परिचय दिइरहेका हुन्छौं । यसपाली कृषि मलको अत्यान्त अभाव हुँदाहुँदै पनि मुख्य बाली धानको उत्पादन अघिल्लो वर्षकै हाराहारीमा हुने देखिन्छ । महामारीका कारण यसपटक धेरै खेतहरू बाँझो देखिएनन् ।

अर्थतन्त्रमा करिब एक तिहाइ योगदान रहेको कृषि क्षेत्रको विस्तार गर्न बजार र बिचौलियालाई व्यवस्थापन गर्नु आवश्यक छ । त्यसो हुन सकेमा कृषिबाट मन्नगे आम्दानी बढाउन मात्र होइन कृषि वस्तुको आयात घटाई आत्मनिर्भर बन्ने बाटोमा अग्रसर हुन सकिन्छ ।

कोरोना महामारीले सिकाएको ठूलो पाठ पनि कृषि कर्मनै ठूलो कर्म रहेछ र किसानहरू भगवान रहेछन् भन्ने नै हो । त्यसैले कृषि क्षेत्रको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र लगानीमा विशेष योजनाहरू बनाई अघि बढ्नु जरुरी छ ।
सूचना प्रविधि क्षेत्र :
विश्वलाई अहिले चलायमान बनाउन सबैभन्दा बढी सक्रिय क्षेत्र हो, सूचना प्रविधिको क्षेत्र । अर्थात विश्वलाई अहिले सूचना प्रविधिले नै हाँकिरहेको भन्दा पनि अत्युक्ति हुँदैन ।

तर, हामी सूचना प्रविधिको उपयोगका लागि धेरै क्षेत्रमा शैशवकालमै छौं । छिमेकी भारत र चीनले सूचना प्रविधिका क्षेत्रमा नविनतम सिर्जनाहरू पस्केर खर्बौं आम्दानी गरिरहेका बेला नेपाल भने उनीहरूकै सिर्जनाहरूमा भुलेर अर्र्बौं रुपैयाँ व्यर्थै खर्चिरहेका छौं ।

विज्ञान र प्रविधि नीति निर्माताहरूका लागि हेंलाको क्षेत्र बन्न पुगेको छ भने केही जानकारहरू पनि बिदेसिने भ¥याङ बनाउन उद्यत छन् । त्यसैले सूचना प्रविधिका क्षेत्रबाट लाभ लिन हामी चुकिरहेका छौं ।

त्यति मात्रै होइन नेपालमै केही गर्न खोज्नेहरूलाई पनि आवश्यक पूर्वाधार निर्माण र प्रोत्साहनको व्यवस्था गर्न आनाकानी गरिरहेका छौं । यस्तो अवस्थामा सुधार ल्याउन नसके ‘ब्रेन ड्रेन’को लहरलाई दोष दिएर मात्र उम्कन पाइनेछैन ।
सहज अवस्थामा वित्तीय सूचकहरू  
भुक्तानी सन्तुलन निकै राम्रो अवस्थामा छ । २०७७ भदौसम्म ६७ अर्ब ६३ करोडले भुक्तानी सन्तुलन बचतमा छ । अहिले विदेशी विनिमय सञ्चिति पनि उपयुक्त अवस्थामा (१२ अर्ब २० करोड अमेरिकी डलर) छ ।

राष्ट्र बैंककाअनुसार अहिले बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । त्यसैगरी ब्याजदर न्यून बिन्दुमा झरेको छ । २०७६ भदौमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर २.७३ प्रतिशत रहेकोमा २०७७ भदौमा ०.१३ प्रतिशत छ ।

वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर पनि ०.०८ प्रतिशतमा झरेको छ । त्यस्तै वाणिज्य बैंकहरूको औसत आधार दर ७.८३ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ५.६१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.१८ प्रतिशत छ ।

त्यसैगरी सबैजसो स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुगेका छन् । ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ४७ स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ ।

वर्तमान समयमा अर्थतन्त्रलाई पुनर्जीवित बनाउन पनि बिस्तारित वित्तीय नीति, गतिशील मौद्रिक नीति र संरचनागत सुधारलाई अभिन्न अंग बनाउनुपर्छ ।

विश्व अर्थतन्त्र पनि ओरालो लागिरहेको अवस्थामा चालू वर्ष हाम्रो अर्थतन्त्रको वृद्धिदर पनि निकै कम आँकलन गरिएको छ । विभिन्न विषयका विज्ञ (पढेका)हरू र काम गरेका (अनुभवबाट खारिएका)हरूको ज्ञान एकत्रित गरेर देश सुहाउँदो नीति तथा योजना बनाउने, कार्यान्वयनका आधारहरू तय गर्ने र आत्मशक्तिलाई डगमगाउन नदिई काम गर्ने हो भने वर्तमान महामारीलाई पनि अवसरमा परिणत गर्न सकिन्छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी अर्थतन्त्र बाट थप

Top