धोबीखोला करिडोरको १६ किमी कालोपत्र सकियो, २४ किलोमिटर १ वर्षमा सक्ने 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ मङ्सिर ५, शुक्रबार,०९:२४:PM  
धोबीखोला करिडोरको १६ किमी कालोपत्र सकियो, २४ किलोमिटर १ वर्षमा सक्ने 

काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य सडकको सवारी चाप कम गर्ने उपायका रुपमा हेरिएको धोबीखोला करिडोरको १६ किलोमिटर कालोपत्र सकिएको छ । खोलाको दुवैतर्फ १२/१२ किमी गरी जम्मा २४ किमी लम्बाइको सडक आगामी आवभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सो करिडोरको स्थलगत निरीक्षण गर्दै सडक चाँडो सम्पन्न गर्न निर्देशन दिइ । उनले काठमाडौँको सुन्दरताका रुपमा रहेको करिडोरमा कुरुपता आएकाले त्यसाई हटाउनुपर्नेमा जोड दिए ।

ललितपुर र काठमाडौँको सीमामा पर्ने शङ्खमूलबाट शुरु भएर धोबीखोलको किनारै किनार बूढानीलकण्ठसम्म करिडोर रहेको छ । सो करिडोरअन्तर्गत बिजुलीबजारको पुलमुनि सडक खुला नभएको उनले बताए । उनले भने, “प्राविधिकले बिचार नपु¥याएको भए पनि त्यो ठाउँमा एक वर्षभित्रमा गाडी आवतजावत गर्न सक्ने गरी खुलाइनेछ ।”

करिडोर निर्माणमा हालसम्म मुआब्जासमेत गरी ३ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाले विसं २०५६ मै करिडोरको निर्माण गर्ने भने पनि अघि बढाउन सकेको थिएन ।

सरकारले महानगरले नसकेपछि विसं २०६३ मा आयोजना सञ्चालनको जिम्मेवारी प्राधिकरण तत्कालीन नगर विकास समितिलाई दिइएको थियो । शुरुका दिनमा दुवैतर्फ घरैघर भएकाले आयोजना सम्भव नभएको धेरैलाई लागेको प्राधिकरणका विकास आयुक्त डा. भाइकाजी तिवारीले बताए ।  

करिडोरमा पर्ने घर, टहरालगायतका संरचना हटाउँदै सडक निर्माण गरिएको छ । सडक निर्माणस्थल खाली गराउने काम झण्डै ९९ प्रतिशत सकिएको प्रमुख तिवारीले जानकारी दिए । सडकमा अहिले पाँच वटा घर मात्रै हटाउन बाँकी छ । 

काठमाडौँ उपत्यकाका मुख्य सडकमा रहेका सवारी चाप कम गराउने उद्देश्यले सरकारले वाग्मतीलगायतका सहायक खोलामा करिडोर निर्माण शुरु गरेको छ । तीमध्ये कतिपय निर्माण सम्पन्न हुने क्रममा छन् भने कतिपयमा शुरु भएको लामो समयमा समेत सम्पन्न भइसकेको छैन ।

वाग्मती, मनोहरा, हनुमन्ते, धोवीखोला, विष्णुमती, नख्खुलगायतका खोलामा करिडोर निर्माण भइरहेको छ । यी करिडोर निर्माण सम्पन्न भएपछि धेरै ठाउँका स्थानीयवासी मुख्य सडक नपुगेर नै गन्तव्यसम्म पुग्नेछन् । यसले गर्दा उपत्यकाका बढी सवारी चाप हुने सडकको चाप कम हुने अपेक्षा गरिएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top