काठमाडौं । मागको ८० प्रतिशत कार्पेट नेपालमै बनेर बजारमा आपूर्ति भइरहँदा पनि सरकारले त्यससम्बन्धी मापदण्ड बनाएको छैन । नेपालमा ७ वटा उद्योगले ८० प्रतिशत बजार हिस्सा ओगटेका छन् । तर, पनि सरकारसँग कार्पेटको कुनै मापदण्ड छैन ।
कार्पेट उद्योगमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । २ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । हरेक नेपालीले स्वदेशमै बनेको कार्पेट प्रयोग गरिरहेका छन् । तर, ती कार्पेटको गुणस्तर मापन गर्ने कानुन नभएको उद्योगीले बताएका छन् ।
‘संसारभर कार्पेटको गुणस्तर तोकिएको हुन्छ । हाम्रो देशमा अहिलेसम्म कार्पेटको गुणस्तर निर्धारण भएको छैन,’ नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समितिका सदस्य वीरेन्द्र साहले भने, ‘सरकारले जतिसक्दो छिटो कार्पेटको मापदण्ड बनाउनुपर्छ । सरकारले मापदण्ड बनाएपछि त्यसअनुरुप उत्पादन गरेर विदेश निर्यातका लागि पनि सहज हुन्छ ।’
हाल नेपालमा हेरिटेज, एसटी, यति, जेन्टा, हाइटेक्स, प्रेस्टिज कार्पेट र यति पोलिकेन उद्योग छन् । ७ वटा उद्योगले ८० आयातलाइ प्रतिस्थापन गरिररहेकाे छ । यी उद्योगीले पीभीसीदेखि सबै प्रकारका कार्पेट बनाउँछन् । स्वदेशी उद्याेगले सस्ताेभन्दा सस्ताे र महँगाे कार्पेट पनि बनाउन सुरू गरेका छन् । पाँचतारे हाेटलले प्रयाेग गर्नेदेखि सामान्य परिवारले प्रयाेग गर्नेसम्म कार्पेट नेपालमै बन्न थालेकाे उद्याेगीहरू बताउँछन् । स्वदेशी उद्याेगबाट सबैखाले कार्पेट बन्दा पनि सरकारले त्यसकाे गुणस्तर निर्धारण गरेकाे छैन ।
प्रेस्टिज ग्रुपले नेपालमा दुईवटा उद्योगमार्फत विभिन्न कार्पेट बनाएर बजारमा पठाइरहेको छ । प्रेस्टिज ग्रुपका प्रवन्ध निर्देशक रहेका साहले सरकारले जतिसक्दो कार्पेटको नेपाल गुणस्तर (एनएस) बनाउनुपर्ने बताए ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीले चाहेको खण्डमा सरकारले मापदण्ड बनाउने बताए । ‘यसको मापदण्ड बनाउन ढिला भइसकेको हो,’ उनले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘व्यवसायीले चाहन्छन् भने सरकारले मापदण्ड बनाउन तयार छ ।’
पुडासैनीका अनुुसार कार्पेटको नेपाल गुणस्तर बनाउनुपर्ने बेला भइसकेको छ । उपभोक्तासँग प्रत्यक्ष जोडिएको वस्तुको गुणस्तर बनाउन थाल्ने पुडासैनीको भनाइ छ । उद्योगीहरूसँग राय सुझाव लिएर यसको मापदण्ड बनाउने काम सुरु गर्ने उनको भनाइ छ ।
अहिले उद्योगीले आफ्नो ब्रान्डको लोगोलाई गुणस्तर हो भन्ने देखाएर कार्पेट बेचिरहेका छन् । यदि सरकारले नेपाल गुणस्तर बनाइदिने हो भने सबै उद्योगीले सोहीअनुसार उत्पादन गर्छन् । त्यसपछि गुणस्तरको कुनै सवाल नै नउठ्ने उद्योगीहरू बताउँछन् ।
केही समयअघिसम्म नेपालमा कार्पेट आयातको हिस्सा ठूलै थियो । तर, अहिले स्वदेशी कार्पेटप्रति नेपालीको विश्वास बढ्दै गएको, उद्योगीले नयाँ–नयाँ उद्योग स्थापना गर्दै गएकाले आयात निरन्तर घट्दोक्रममा छ ।
स्वदेशी उद्योगले नेपाली कार्पेट भारत, पाकिस्तान, अमेरिका र युरोप निकासीको लक्ष्य राखेका छन् । राम्रो मूल्य अभिवृद्धि हुने भएकाले सरकारले जतिसक्दो छिटो नेपाल गुणस्तर बनाउने हो भने विदेश निर्यात पनि गर्न सकिने उद्योगीहरू बताउँछन् ।
उद्योगहरूले अहिले विभिन्न डिजाइनमा कार्पेट उत्पादन गरिरहेका छन् । बजार माग र आवश्यकताका आधारमा डिजाइन थपिँदै छन् । नेपालमा बर्सेनि करिब १० अर्ब रुपैयाँ बराबरको कार्पेटको कारोबार हुने गरेको छ ।