×

बैंक र बिमा कम्पनीले खन्याए सेयर बजारमा पैसा

images

काठमाडौं । अर्थतन्त्रले अझै गति नलिएपछि बैंक तथा निर्जीवन बिमा कम्पनीहरूले धमाधम सेयर किन्न थालेका छन् । नयाँ ऋणको माग नभएपछि बैंक र निर्जीवन बिमा कम्पनीहरूले सेयर बजारमा पैसा खन्याउन थालेका हुन् । 

बैंक तथा वित्तीय संस्थालाई नाफा कमाउनुपर्ने दबाब बढेपछि उनीहरू आफैं सेयरमा लगानी गरेर नाफा कमाउन लागि परेका छन् । सञ्चालकहरूले फोन, म्यासेजबाटै बैंक प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्जीवन बिमा कम्पनीका प्रमुखहरूलाई नाफा घटेको सन्देश पठाउन थालेपछि जुनसुकै हालतमा पनि नाफा आर्जन गर्नुपर्छ भन्ने सोचले सेयरमा लगानी विस्तार गरेको एक निर्जीवन बिमा कम्पनीका सीईओले जानकारी दिए । 

‘सेयर बजारमा रहेको आफ्नो कम्पनीको मूल्य माथि लैजान होस्, वा सञ्चालकहरूलाई खुसी बनाउन । जसरी पनि नाफा कमाउनुपर्ने अवस्था छ,’ ती सीईओले भने, ‘यस्तो खाले दबाब सबै बैंक तथा बिमा कम्पनीहरूमाथि परेको छ । त्यही भएर अहिले ठूलो रकम सेयर बजारमा खन्याएका छौं ।’
अहिले इन्स्योरेन्स कम्पनीले जति नाफा कमाएको देखाएका छन्, त्यसको ८० प्रतिशत सेयर बजारबाट कमाएको हुन् । इन्स्योरेन्सका अन्य व्यवसाय ठप्प छन् । नयाँ क्षेत्रमा पनि लगानी हुन सकेको छैन । 

बिमा कम्पनीहरूले टेक्निकल रिजर्भ (लगानी योग्य रकमको योगफल) को २० प्रतिशतसम्मको रकम सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थालाई अनुशरण गरेर सेयर बजारमा लगानी गरेको उनीहरूको भनाइ छ । 

अहिले इन्स्योरेन्स मात्रै होइन, बैंकले पनि धमाधम सेयर किनिरहेको छ । तेस्रो त्रैमासमा नाफा दोस्रो त्रैमासको भन्दा बढाउनुपर्ने बैंकहरूमाथि दबाब छ । त्यही भएर आफूसँग भएको पैसाले बैंकहरू धमाधम सेयर किनिरहेका छन् । 

यसले एकातिर सेयर बजारलाई माथि लैजाने अवस्था हुन्छ भने अर्कोतिर सञ्चालक तथा सेयर लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने एक बैंकका सीईओले जानकारी दिए । 

‘बैंकमा पैसा थुपारेर राख्नुभन्दा सेयरमै लगानी गर्यो भने पनि आम्दानी बढ्छ,’ एक बैंकरले भने, ‘त्यही भएर धेरैजसो बैंकले सेयरमा लगानी गरिसकेको छन् र गरिरहेका पनि छन् ।’

दोस्रो त्रैमासमा सबै बिमा कम्पनीको नाफा धेर थोर बढेको छ । केही बैंक बाहेक सबैले नाफा बढाएका छन् । सेयरबाट भएको आम्दानीले नाफा बढेको हुनसक्ने केही बैंकरहरू बताउँछन् । 

निर्जीवन बिमा कम्पनीहरूले दोस्रो त्रैमासमा २ अर्ब ८ करोड १४ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा ती बिमा कम्पनीहरूले १ अर्ब ६२ करोड खुद नाफा कमाएका थिए । 

 

आइतबार​ १६ फागुन २०७७ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया