काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७ करोड ५० लाख अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छ ।
वित्तिय सहयोगद्वारा समतामुलक वितरण योजना को माध्यमबाट कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको छ।
“यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,” मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने “ कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण हो । ”
गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब रुपैयाँ) बराबरको कोभिड आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो ।
यस नविन वित्त सहयोगको अधिकांश हिस्सा अर्थात ९० प्रतिशत कोभिडका खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्या बाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ । बाँकी रकमले कोभिड खोपका पहलहरूलाई सघाउन र कोभिडसँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्याई नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ ।
यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम सञ्चारमा पनि सहयोग पुर्र्याउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउनेछ ।
“यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रका लागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,” विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भने।
“कोभिडको अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिडको विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।”
नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिडको खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो।