काठमाडौं । अक्सिजन नपाएर कोभिडका बिरामीले धमाधम ज्यान गुमाइरहेका बेलामा पनि पूर्वी नेपालका अक्सिजन उद्योग आधा क्षमतामा मात्रै चलिरहेका छन् ।
एक पटक फिलिङ गरेर लगेको अक्सिजन सिलिन्डर नफर्किने र नयाँ सिलिन्डर पनि नभएकाले उद्योगले दैनिक १२ घण्टा मात्रै अक्सिजन उत्पादन गरिरहेको उद्योगीहरुले बताएका छन् ।
देशभर अक्सिजनको चरम अभाव छ । अस्पतालहरुले अक्सिजन अभाव भएकाले नयाँ बिरामीलाई भर्ना नै लिन छाडिसकेको अवस्था छ । यस्तो बेलामा अक्सिजन उद्योगीहरु २४ सै घण्टा प्लान्ट चलाउन खोजे पनि सरकारले सिलिन्डरको व्यवस्थापन गर्न नसक्दा आधा कर्मचारी राखेर ५० प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन् ।
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सारडाले पूर्वी नेपालमा भएका आधा दर्जन उद्योगले दैनिक १२ घण्टा मात्रै अक्सिजन उत्पादन गरिरहेको बताए । ‘एक पटक सिलिन्डर भर्ने र लैजाने, त्यसपछि उक्त सिलिन्डर फिर्ता नै नआउने गरेकाले उद्योगले पूर्ण क्षमतामा उत्पादन गरेका छैनन्,’ उनले भने, ‘सिलिन्डर फिर्ता आउने चक्र नै बन्द भएको छ । त्यही भएर पनि अक्सिजनको चरम अभाव भएको छ ।’
यदि सरकारले सिलिन्डरको व्यवस्था गरेर उद्योगलाई सिलिन्डर उपलब्ध गराउने हो भने अक्सिजनको अभाव तत्काल समाधान हुने उनको भनाइ छ ।
काठमाडौंमा रहेका अक्सिजन उद्योग २४ सै घण्टा चलिरहेका छन् । तर, उपत्यका बाहिरका सबै उद्योग ५० देखि ६० प्रतिशत मात्रै क्षमतामा चलिरहेको उद्योगीहरुको भनाइ छ ।
देशमा सालाखाल १ लाख सिलिन्डर छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार हाराहारी मात्रै छन् । संक्रमितमध्ये पनि ९० प्रतिशत बिरामी अस्पतालसम्म पुग्दैनन् । उनीहरु घरमै बसेर निको भएका छन् । बाँकी १० प्रतिशत बिरामी मात्रै अस्पतालसम्म पुगेका छन । अस्पताल जाने सबैलाई अक्सिजनको आवश्यकता पर्दैन । अस्पताल जानेमध्ये २० प्रतिशतलाई अक्सिजन चाहिन सक्छ । त्यो भनेको नगन्य मात्रामा हो ।
तर, नेपालमा उद्योगीसँगको रेकर्डअनुसार १ लाख सिलिन्डर छन् । सरकारी तथ्यांकअनुसार करिब डेढ लाख सिलिन्डर छन् । त्यसमाथि पनि अहिले ठुल्ठूला उद्योगले आफ्नो उद्योग बन्द गरेर पनि धमाधम सरकारलाई ठूलो परिमाणमा सिलिन्डर उपलब्ध गराएका छन् । त्यत्रो सिलिन्डर कहाँ छन् त ? यसको जवाफ न उद्योगीसँग छ न सरकारसँग नै ।
सरकारी अधिकारीका अनुसार भएभरको सिलिन्डर घर–घरमै होल्ड भएर बसेका छन् । अक्सिजन नै नचाहिने व्यक्तिले भविष्यमा चाहिन सक्छ भन्ने अनुमानका आधारमा सिलिन्डर होल्ड गर्दा अभाव देखिएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । आवश्यकता नै नपरी अक्सिजन होल्ड गर्ने प्रवृत्तिले अक्सिजन लगाउनै पर्नेले नपाएर ज्यान गुमाइरहेका छन् ।