बीबीसी । जापानको संसदले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ। शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए।
संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई औपचारिक रूपमा अनुमोदन गरेको हो। उनी आबेको मन्त्रिपरिषद्मा मुख्यसचिवका रूपमा दोस्रो वरीयतामा थिए। आबेका निकटतम सहयोगी मानिने सुगाले आबेका नीतिहरूलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ। आबेले गत महिना देशमको कार्यकारी पद छोड्ने घोषणा गरेका थिए।
बुधवार बिहान आयोजित मन्त्रिपरिषद् बैठकपछि आबेले ८ वर्ष सत्तामा हुँदा प्राप्त उपलब्धिप्रति आफू गौरवान्वित भएको सञ्चारमाध्यमलाई बताए।त्यसपछि जापानको तल्लो सदनमा प्रधानमन्त्री पदका लागि मतदान हुँदा कुल ४६२ सांसदमध्ये ३१४ जनाले उनलाई समर्थन गरे।
लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले नेतृत्व गरेको गठबन्धनको संसदमा बहुमत भएकाले उनको विजय निश्चित थियो। मन्त्रिपरिषद्का अन्य सदस्यसहित जापानी सम्राटले एउटा विशेष समारोहका बीच उनलाई पदभार ग्रहण गराउने छन्।
कसरी छानिए सुगा ?
यसअघि सर्वसाधारणका लागि सुगा “नहाँस्ने र आकर्षणहीन सरकारी प्रवक्ता” थिए। जापानी पत्रकारहरूले प्रश्न सोध्दा आफूलाई मन नपरे उनी उत्तर दिन अस्वीकार गर्थे। त्यसैले उनलाई पत्रकारहरू “लौहपुरुष” पनि भन्छन्।
केही समयअघि के उनी असल व्यक्ति हुन् भनेर सोध्दा सुगाले भनेका थिएः “जसले आफ्नो काम राम्ररी गर्छन् तिनका लागि म राम्रो मान्छे हुँ।” लामो समय टोकियोमा बसेका अर्थशास्त्री जेस्पर कोलका अनुसार एलडीपीका प्रभावशाली नेताहरूले अरू कुनै वैकल्पिक व्यक्ति नभेटेपछि सुगालाई छानेका हुन्।
यो निश्चित रूपमा एलडीपीभित्र अँध्यारो कोठामा भएको रोजाइ हो, उनी भन्छन्, जापानको प्रधानमन्त्री छनोटमा सर्वसाधारणको कुनै भूमिका थिएन। अन्ततोगत्वा जननिर्वाचनमा जित्न सके मात्र तपाईँ दलभित्र राम्रो मानिनुहुन्छ। त्यसैले उनी दबावमा छन्। उनले आफूलाई दलमा र जापानी जनतासमक्ष प्रधानमन्त्री बन्न योग्य छन् भनेर प्रमाणित गर्नुपर्ने छ।
अरू चुनौती के हुन् ?
सुगा अनुभवी नेता हुन्। उनले लामो समय मन्त्रिपरिषदमा बसेर काम गरेका छन्। अहिले जटिल परिस्थितिमा उनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र मानिने देशको शीर्ष नेतृत्वमा पुगेका छन्।
अरू देशले जस्तै जापानले पनि अर्थतन्त्रलाई धराशायी बनाइदिने कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको छ। आबेले सुरु गरेको आर्थिक सुधारको कार्यक्रमसहित उनले निवर्तमान सरकारका प्राथमिकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिसकेका छन्।
“सुगाको निर्वाचनले शिन्जो आबेले थालेका मुख्य नीतिगत कुराले निरन्तरता पाउने सुनिश्चित गर्छ,” अमेरिकास्थित स्टिम्सन सेन्टरको जापान कार्यक्रमकी निर्देशक युकी तात्सुमीले बीबीसीलाई बताइन्।
“आबेका प्रमुख सहयोगी र मन्त्रिपरिषदका मुख्यसचिवका रूपमा उनको क्षमता प्रमाणित भइसकेको भए पनि देशको शीर्ष नेताका रूपमा उनको सामर्थ्यको परीक्षण हुन बाँकी छ – विशेषगरी विदेशनीतिमा,” उनी भन्छिन्।
सहयोगीबाट मुख्यकर्ताको भूमिकामा उनी कसरी रूपान्तरित हुन्छन् भन्ने कुराले उनी कति कुशल नेता हुन् त्यो देखाउने तात्सुमीको भनाइ छ। कुनै अभिजात्य वर्गमा नभई किसान परिवारमा जन्मिएका सुगालाई राजनीतिमा स्थापित हुन लामो समय कुर्नुपर्यो । अहिले उनी ७१ वर्षका भए।
उनले पहिला एक सांसदको सचिव बनेर काम गरेका थिए। बिस्तारै उनी सक्रिय राजनीतिमा प्रवेश गरे। नगर परिषदको निर्वाचनदेखि सुरु भएको उनको राजनीतिक यात्रा सन् १९९६ मा संसदमा पुग्यो।
सन् २००५ मा जुनिचिरो कोइजुमीले नेतृत्व गरेको सरकारमा उनी मन्त्री बने। त्यसपछि बनेको आबे सरकारमा उनी प्रभावशाली बने।उनलाई प्रधानमन्त्री आबेको “दाहिने हात” मानिन्थ्यो। सुगाले सक्षम र व्यावहारिक नेताको छवि बनाए। निवर्तमान प्रधानमन्त्री आबेले पनि सुगाको नेतृत्वको अभियानलाई समर्थन गरे।
तर उनको कार्यकाल छोटो हुनेछ। आगामी वर्ष हुने निर्वाचनमा उनले सर्वसाधारण मतदातासमक्ष उभिनुपर्ने हुनसक्छ। तर अनुभवी भए पनि धेरै चर्चित नमानिने यी नेता देशव्यापी निर्वाचन अभियानका लागि उनको दलको पहिलो रोजाइ नहुन पनि सक्ने पर्यवेक्षकहरूको धारणा छ।