नयाँ दिल्ली (भारत) । भारतमा पेट्रोलको मूल्य कोरोना भाइरसको महामारी पूर्वको स्तरमा फर्किएको छ । गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरको पहिलो आधा महीनामा पेट्रोलको विक्री २ प्रतिशतले बढेको छ । अगष्टको तुलनामा भने विक्री ७ प्रतिशत धेरै छ ।
यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा डिजेलको विक्री भने साढे ५ प्रतिशत तल छ । अघिल्लो महीनाको तुलनामा भने सेप्टेम्बरमा विक्री २० प्रतिशतले बढेको छ ।
जुन र जुलाईमा कमजोर पुनर्बहालीपछि समीक्षा अवधिमा मागमा नाटकीय सुधार आएको छ । गत वर्षको सोही अवधिको तुलनामा अगष्टमा डिजेल र पेट्रोलको विक्री क्रमशः २१ प्रतिशत र ७ दशमलव ४ प्रतिशतले घटेको थियो ।
लकडाउनको बेलामा समेत खाना पकाउने ग्यासको खपत भने उच्च रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा सेप्टेम्बरमा खाना पकाउने ग्यासको माग १३ प्रतिशतले बढेको छ ।
अघिल्लो महीनाको तुलनामा सेप्टेम्बरमा यो साढे १३ प्रतिशत धेरै छ । अगष्टको तुलनामा समीक्षा अवधिमा जेट इन्धनको माग १६ प्रतिशतले बढेको भएपनि गत वर्षको सोही अवधिको तुलनामा भने यो ६० प्रतिशतले घटेको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लकडाउन थप खुकुलो बनाएसँगै बढी भन्दा बढी मानिसहरु काममा जान थालेका छन् । आर्थिक गतिविधिहरु पनि बढेको छ । यसले इन्धनको माग थप बढाउने विज्ञहरुले बताएका छन् ।
हालैका दिनमा कोभिड–१९ का बिरामीको संख्या बढेको भएपनि मानिसहरुमा महामारीप्रतिको भय घटेको देखिएको छ र आफ्नो जीवन सामान्य तरिकाले यापन गर्न सर्वसाधारण उत्सुक देखिएका छन् । चाडपर्वको मौसम नजिकिदैं गरेकोले अक्टोबरमा इन्धनको माग थप बढ्ने अपेक्षा गरिएको छ । एजेन्सी