काठमाडौं । दुई महिना अघिसम्म भैरहवा वितरण केन्द्रका प्रमुख थिए– उमेश झा । ग्राहकसँग प्रत्यक्ष सम्पर्क रहने र उनीहरूसँगबाट अप्रत्यक्ष रूपमा राम्रै लाभ ( बेनिफिट) समेत लिइरहेको थाहा पाएपछि नेपाल विद्युत् प्राधिकरण व्यवस्थापनले उनलाई त्यहाँबाट वितरण केन्द्रबाट बुटवल ग्रिडमा सरुवा गरिदियो ।
झाको बुटवल ग्रिडमा सरुवा भएपछि भैरहवा वितरण केन्द्र प्रमुखका रूपमा रहेर लिँदै आएको लाभ खोसिएपछि भैरहवा र बुटवलका उद्योगलाई गुणस्तरहीन लाइन दिएर हैरान कटाएका छन् ।
अहिले वितरण केन्द्रमा जितेन्द्र झालाई ल्याइएको छ । वितरण केन्द्र र ग्रिडबीच समन्वय नहुँदा त्यसको शिकार उद्योगी÷व्यवसायी भइरहेका छन् । एक आपसमा मिलेर विद्युत्मा देखिएको समस्या समाधान गर्नुको साटो एक अर्कालाई दोष देखाएर पन्छिने गरेकाले त्यहाँका उद्योगीलाई दैनिक लाखौं रुपैयाँ नोक्सान भइरहेको छ ।
वितरण केन्द्रबाट सरुवा भएपछि झाले गुणस्तरीय विद्युत् उपलब्ध गराउन कुनै चासो लिएका छैनन् । लाइनको समस्या बारम्बार आएपछि उद्योगीले वितरण केन्द्रलाई फोन गरेर सोध्छन्, वितरण केन्द्रले ग्रिडबाट समस्या भएको जानकारी दिन्छ । ग्रिडमा फोन गरेर सोध्दा वितरण केन्द्रमा समस्या हो, उतै फोन गर्न भन्दै फोन काटिदिन्छ । यो क्रम दुई महिनादेखि चलिरहेको बुटवलका एक उद्योगी बताउँछन् ।
वितरण केन्द्र र ग्रिडबीच सुमधुर सम्बन्ध हुनुपर्ने हो । तर, यहाँ उनीहरू बीचमा आपसी एकता छैन । यिनीहरू एकले अर्कोमाथि दोष थुपारेर बस्दा सेवाग्राही ठूलो समस्यामा परेका छन् ।
‘मेरोमा समस्या छैन, तेरोमा हेर भन्दै एक अर्का आफ्नो जिम्मेवारीबाट पन्छिने गरिरहेका छन् । विद्युतमा देखिएको समस्या समाधान गर्न भन्दा पनि उनीहरू जिम्मेवारीबाट पन्छिएका कारण त्यसको नोक्सानी उद्योगीहरूले भोगिरहेको महिनौं भइसक्यो,’ उनीहरूले उद्योगीलाई दिएको जवाफ सुनाउँदै ती उद्योगीले भने, ‘उनीहरू बीचको जुहारीले दैनिक लाखौं रुपैयाँ क्षति हुँदा पनि प्राधिकरण केन्द्रले कुनै चासो दिएको छैन ।’
विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले सेवाग्राहीलाई कसैले पनि दुःखदिन नपाउने बताए । भैरहवा/बुटलवमा के समस्या भएको हो, त्यसबारे तत्कालै बुझ्ने उनले बताए । ‘जिम्मेवारीबाट कोही पनि भाग्न मिल्दैन,’ उनले भने, ‘एक अर्कालाई दोष देखाएर पन्छिन कुनै पनि कर्मचारीलाई छुट हुँदैन ।’ गुणस्तरीय विद्युत वितरण गर्न निर्देशन दिएको बताउँदै यदि गुणस्तरमा सुधार नआए कडा कदम चाल्ने उनले चेतावनी दिए ।
बुटवल ग्रिडका प्रमुख उमेश झाले सिस्टममा कुनै समस्या नभएको बताए । ‘अन्य कहाँबाट समस्या भएको हो, मलाई जानकारी हुँदैन,’ उनले क्यापिटल नेपालसँग भने ।
वितरण केन्द्रबाट हटाएर ग्रिडमा ल्याएपछि तपाइ आफैंले लाइनमा चलखेल गरेको हो भन्ने आरोप छ नि भन्ने प्रश्नमा झाले भने, ‘यस्तो हुनै नसक्ने कुरा हो । मैले मेरो जिम्मेवारीभित्र हेर्ने हो । त्यो हेरेकै छु ।’
अहिले बुटवल भैरहवामा दिनको ३ चोटीसम्म लाइन गइरहेको छ । विगत दुई महिनादेखि बेला–बेलामा लाइन ट्रिपिङ हुने गरेको उद्योगीहरू बताउँछन् । ‘लाइन अवरुद्ध भएपछि फोन ग्रिडमा फोन गर्यो भने ग्रिडको मान्छेले हाम्रोबाट समस्या छैन, सर्किटमा समस्या होला, त्यता फोन गर्नुस् । वितरण केन्द्रलाई सोध्यो भने ‘सर सर्किटमा समस्या छैन । सिष्टम गएको छ भन्छ’ ती उद्योगीले भने ।
सिष्टम गयो कि गएन भन्ने प्रत्यक्ष मनिटरिङ ग्रिडले गरिरहेको हुन्छ । बुटवल/भैरहवाको लाइन सिस्टम फेल भएर गएको हो कि होइन भन्ने कुराको मनिटरिङ ग्रिडले गरिरहेको हुन्छ ।
जब झा ग्रिडमा सरुवा भए
जबदेखि झा ग्रिडको हाकिम बनेर गए, त्यो बेलादेखि लाइन ट्रिपिङको समस्या बढेको हो । झा पहिला भैरहवा वितरण केन्द्र प्रमुख थिए । झाले वितरण केन्द्र प्रमुख हुँदा ग्राहकलाई अत्यधिक दुःख दिएको, हाकाहाकी पैसा मागेको थाहा पाएपछि विद्युत् प्राधिकरण नेतृत्वले त्यहाँबाट ग्रिडमा सरुवा गरेको थियो ।
ग्रिडका हाकिमसँग प्राधिकरणको विद्युत मात्रै हुन्छ । ग्रिडका हाकिमको ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुँदैन । अहिले झाको पनि ग्राहकसँग सम्पर्क विच्छेद भएको छ । ग्राहकसँग सिधा सम्पर्क नहुने बित्तिकै अप्रत्यक्ष रूपमा लिँदै आएका सुविधा लिन पाइएन । ग्रिडको वितरण केन्द्रसँग मात्रै सम्पर्क हुने भयो । त्यहाँबाट पैसा आउँदैन । वितरण केन्द्रले केही दिँदैनन् । दिने त ग्राहकले हो । ग्राहकको सम्पर्क वितरण केन्द्रसँग मात्रै हुन्छ ।
झाको खाने ठाउ नै बन्द भएपछि उसले कुनै जिम्मेवारी नलिने र लाइन अवरुद्ध भएको विषयमा जानकारी गराउँदा उल्टै सेवाग्राहीलाई हप्कीधप्की गर्ने गरेका छन् । आफू ग्रिडको हाकिम भएपछि झाले ‘प्ले’ गर्न खोज्छन् । किनभने, अब रुपन्देहीको पूरै र कपिलवस्तुको आधा शक्ति झाको हातमा छ ।