काठमाडाैं । मंगलबार अमेरिकी राष्ट्रपतिका लागि मतदान हुदैछ । ‘इलेक्सन डे’ अर्थात मंगलबार राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसद तथा गभर्नरका लागि समेत मतदान हुन लागेको हो ।
यसवर्ष कोरोना भाइरसको महामारीका कारण अमेरिकामा ‘इलेक्सन डे’ अघि नै इतिहासकै सबैभन्दा बढी अग्रिम मतदान भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार करिब १० करोड अमेरिकीले मतदान गरिसकेका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार सोमबारसम्म ९ करोड ७९ लाख मतदाताले केन्द्रमा आएर तथा हुलाकमार्फत आफ्नो मत व्यक्त गरिसकेका छन् । यो सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा खसेको कुल मतको ७१ प्रतिशत हो ।
अग्रिम मतदान गर्नेमध्ये ६ करोड २४ लाख भन्दा बढीले हुलाक मार्फत मतदान गरेका छन् भने मतदान केन्द्रमा गएर तीन करोड ५४ लाखले मतदान गरेका छन् ।
आज हुने चुनावमा राष्ट्रपतिका लागि परम्परागत रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प तथा उदारवादी डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन उम्मेदवार रहेका छन् ।
अमेरिकामा भएका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन ट्रम्प भन्दा करिब १० प्रतिशतले अघि देखिएका छन् । तर राष्ट्रपति बन्न महत्वपूर्ण केही राज्यमा तीव्र प्रतिस्पर्धा छ ।
उम्मेदवारहरूको देशभरि स्थिति कस्तो छ?
राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन।
सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ। हिलरी क्लिन्टन मतसर्वेक्षणमा अगाडि थिइन्। डोनल्ड ट्रम्पले भन्दा उनले झन्डै ३० लाख बढी मत पाइन्। तर उनी पराजित भइन्। किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन।
यो कुरा एकातिर राखौँ। देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय डोनल्ड ट्रम्पभन्दा जो बाइडन अगाडि देखिएका छन्।
कडा प्रतिस्पर्धा हुने राज्यहरूमा को अगाडि छ?
अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ। तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ। झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा।
सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी भएका थिए।
तर सन् २०१६ मा ट्रम्प ठूलो मतान्तरले विजयी भएका ब्याटलग्राउन्ड राज्यहरूमा उनको निर्वाचन अभियान टोली बढी चिन्तित हुने देखिन्छ।बीबीसीकाे सहयाेगमा