काठमाडौं । बन्दाबन्दी र निषेधाज्ञामा थलिएका पूर्वका उद्योगले गति समात्न थालेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञामा उत्पादन खुम्चिएका उद्योगले असोजयता उत्पादन बढाउँदै लगेका छन् ।
अहिले बजारले गति लिएको र उत्पादनको माग बढेको उद्योग राज्यमन्त्री मोतीलाल दुगडले बताए । ‘दसैैंपछि कोरिडोरका उद्योगको उत्पादनमा सुधार आएको छ,’ सेञ्चुरी ग्रुपका प्रवन्ध निर्देशक तथा उद्योगराज्यमन्त्री दुगडले भने, ‘लामो समयसम्म सुस्ताएको बजारले विस्तारै पुरानै लय समात्न खोजिरहेको छ ।’
कोरिडोरका उद्योग प्रतिष्ठानसँगै समुदायमा कोरोना फैलिएपछि त्यसबेला स्थानीय प्रशासनले उद्योग सञ्चालनको मापदण्डमा कडाइ गरेको थियो । निषेधाज्ञा लगाएर उद्योगमा कडाइ गरेपछि उत्पादन प्रभावित भएको थियो । कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको थियो ।
अत्यावश्यकीय भनिएका खाद्यान्न र औषधिजस्ता उद्योगसमेत क्षमताको १५ देखि २० प्रतिशतमा खुम्चिएका थिए । चैत १० मा लगाएको बन्दाबन्दी सरकारले साउनको पहिलो साता हटाएको थियो । अहिले कोरिडोरका औसत उद्योगले ७० देखि ८० प्रतिशतसम्म उत्पादन गरिरहेको उद्योगीहरू बताउँछन् ।
‘यतिखेर चाडपर्वका बेला भएकाले खाद्यान्नको बजार र उत्पादनमा सुधार आएको छ । बन्दाबन्दी र निषेधाज्ञामा थला परेका उद्योगहरूले केही हदसम्म राहत महसुस गरिरहेका छन्,’ केएल दुगड ग्रुपका प्रवन्ध निर्देशक कुमुद दुगडले भने ।
बजार खुले पनि भुक्तानीमा भने समस्या रहेको उद्योगीको भनाइ छ । बजार सामान्य बन्दै गए पनि बन्दाबन्दीका बेला रोकिएको भुक्तानी नउठ्दा सञ्चालन पुँजीको समस्या भइरहेको उद्योगी बताउँछन् ।
संकटमै निर्माण उद्योग
दसैंलगत्तै अन्य उत्पादनले गति लिन थाले पनि निर्माण सामग्रीका उद्योगले भने अपेक्षाअनुसार बजार समात्न सकेका छैनन् । बजार खुलेसँगै चाडपर्व सुरु भएकाले निर्माणका काम अघि बढ्न नसकेको उद्योगीहरूको भनाइ छ । डन्डी, सिमेन्ट, जस्तापाता, इँटालगायत निर्माण सामग्रीको माग तिहार र छठ पर्वपछि बढ्ने अपेक्षा उद्योगी शिवरतन सारडाको छ ।
बन्दाबन्दीयता ठूला विकास योजना र निर्माणका काम प्रभावित भएकोमा अहिले चाडपर्वको समय परेकाले मागमा सुधार आउन नसकेको उद्योग सञ्चालकहरूको भनाइ छ । छठ पर्वलगत्तै निर्माणका कामले गति समात्ने र माग बढ्ने उद्योगीहरू बताउँछन् ।
बन्दाबन्दी र निषेधाज्ञाको समयमा क्षमताको २० प्रतिशतको हाराहारीमा सीमित निर्माण सामग्री उद्योगको उत्पादन अहिले ५० देखि ६० प्रतिशतसम्म पुगेको उद्योगी बताउँछन् ।
महामारीका कारण उत्पादन घटाएका निर्माण सामग्री उद्योग उत्पादनको भाउ खसेपछि दोहोरो मारमा परेका छन् । मागको कमी र चर्काे प्रतिस्पर्धाका कारण अहिले डन्डी र सिमेन्टको भाउ घटेको छ । सिमेन्टको भाउ २० देखि २५ प्रतिशतसम्म खस्किएको छ ।