काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा उनले प्रतिद्धन्दी किशोर प्रधानलाई पराजित गरी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
ढकालले कुल खसेको मतमध्ये ५४.६२ प्रतिशत र प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् । ३० प्रतिशत मत भार रहेको एसाेसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मत भार रहेको जिल्लानगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याए ।
महासंघको विधानअनुसार ढकाल ३ वर्षपछि महासंघको स्वतः अध्यक्ष बन्ने भए पनि यो निर्वाचन ९ महिना ढिला भएका कारण २ वर्ष ४ महिनापछि अर्काे कार्यकालको निर्वाचनपछि ढकाल अध्यक्ष बन्ने छन् ।
वरिष्ठ उपाध्यक्ष ढकाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।
गत वर्षको चैत २८ गते महासंघको निर्वाचन हुनुपर्नेमा कोरोना महामारीका कारण दुई पटक निर्वाचन सरेको थियो । तेस्रो पटक मंसिर ११ देखि १३ गते ३ दिनका लागि साधारणसभा र निर्वाचन गर्ने मिति तोकिएको थियो ।

ढकाल महासंघको केन्द्रीय कार्यकारणी समितिका सदस्य हुँदै एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । उनको प्यानलमा वस्तुगततर्फ उमेशलाल श्रेष्ठ, जिल्ला नगरमा गुणनिधि तिवारी र एसोसिएटको उपाध्यक्षमा रामचन्द्र संघइले उम्मेदवारी दिएका थिए । संघईले एसोसिएटको उपाध्यक्षमा विजय प्राप्त गरेका छन् । प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले जितेका छन् ।
महासंघको विद्यान संशोधन गरेर अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव आउँदा ढकालले यसको विरोध गरेका थिए । उनले विद्यान संशोधनको आवश्यकता नरहेको भन्दै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वतः अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका थिए ।
शालिन स्वभावका ढकाल बैंक तथा वित्तीय क्षेत्र, रेमिट्यान्स, बिमा, जलविद्युत् र केवलकारलगायत क्षेत्रमा लगानी विस्तार गरिरहेका छन् । उनले सातवटै प्रदेशमा केवलकार बनाउने योजना समेत सार्वजनिक गरेका छन् ।
चन्द्र ढकाल र गोल्छा एकै ठाउँमा भए पनि ढकालले चण्डीराज ढकालका साथ लिएको भन्दै गोल्छाले किशोर प्रधानलाई समर्थन गरेर चुनावी मैदानमा उत्रेका थिए ।
चण्डीराज ढकालले विधान संशोधनको हतियार देखाएर गोल्छालाई पटक-पटक पीडा दिएकाले आफूले प्रधानलाई समर्थन गरेको गोल्छाले बताउँदै आएका छन् ।
निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षले महासंघको नेतृत्व गरिसकेका छन् । १९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् ।