काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ ८ः३० मा भेटघाटको समय दिएका थिए ।
महासंघमा नयाँ नेतृत्व आएपछि सरकार प्रमुखलाई भेट्ने पुरानो परम्परालाई निरन्तरता दिन, वर्तमान अर्थव्यवस्था र उद्योगीको खच्किएको मनोबलका बारेमा प्रधानमन्त्री ओलीलाई सुनाउन पनि प्रधानमन्त्री ओलीको समय लिएका थिए ।
महासंघका पदाधिकारीको सोही आग्रहलाई स्वीकार गर्दै प्रधानमन्त्री ओलीले बालुवाटारमा बुधबार बेलुका ८ः३० बजे समय त दिए, तर महासंघका पदाधिकारीलाई बोल्ने अवसर भने दिएनन् ।
‘डेढ घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले एकोहोरो रुपमा बोलिरहेँ । त्यहाँ पुगेका महासंघका पदाधिकारीले सुन्ने मात्रै काम भयो,’ एक सहभागीले भने, ‘डेढ घण्टा लामो भेटघाटमा अधिकांश समय उखान टुक्का र चुड्किला सुनाउँदैमा बित्यो ।’
प्रधानमन्त्री ओलीले बोलिरहेका बेला महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसायीको वास्तविक अवस्था भन्न खोजे पनि प्रधानमन्त्री ओलीले घुमाउरो पारामा विषयान्तर गरेका थिए ।
‘बिग्रिँदो आर्थिक अवस्था, खच्कँदो उद्योगीको मनोबल, आर्थिक गतिविधिमा आएको सुस्तताका बारेमा गोल्छाले प्रधानमन्त्री ओलीसमक्ष आफ्नो कुरा राख्न खोज्नु भएको थियो,’ ती सहभागीले क्यापिटल नेपालसँग भने, ‘तर, प्रधाममन्त्री ओलीले कुनै पनि अवसर दिनुभएन ।’
बालुवाटारमा बोलाउनुभयो । डेढ घण्टासम्म आफ्नो भाषण, चुड्किला र उखान टुक्का सुनाएर पठाएका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रका तीनवटै संस्था मिलेर अघि बढ्न भने सुझाए ।
महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सजस्ता संस्था मिलेर अघि बढ्न प्रधानमन्त्री ओलीले महासंघका पदाधिकारीलाई आग्रह गरे ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले राज्यको क्षमता कम भएको र सरकारले ल्याएको राहत प्याकेज भित्र रहेर आर्थिक गतिविधि बढाउन सरकार तयार रहेको बताएका थिए ।
प्रधानमन्त्रीसँगको भेटघाटमा अध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ठ सदस्य पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एसोसिएटतर्फ उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको उपस्थिति थियो ।