काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को बैठक लामो समयदेखि बस्न सकेको छैन । हरेक पटक मन्त्रालयले एउटै समस्या दोहोर्याइ–तेहेर्याइ समितिमा ल्याउने गरेपछि प्रधामन्त्री ओली बैठक बस्न अनिच्छुक देखिएका हुन् ।
‘एक पटक समितिमा आइसकेको विषयलाई प्रधानमन्त्रीज्यूले समाधान गर्न तत् तत् मन्त्रालयलाई निर्देशन दिनुहुन्छ,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले क्यापिटल नेपालसँग भने, ‘तर, दोस्रो/तेस्रो पटकको बैठकमा पनि तिनै समस्या समितिमा आइपुग्छन् ।’
एक पटक समस्या समाधान गर्न दिएको निर्देशन पूर्णरूपमा पालना गर्ने हो भने बैठक बस्नुको औचित्य हुने कँडेलको भनाइ छ । समितिमा ल्याएका हरेक विवादित विषयलाई प्रधानमन्त्री ओलीले तत्काल समाधान गर्न भने पनि त्यसले मूर्तरूप पाउँदैन र पछिल्लो बैठकमा सोही विषय प्रस्तुत गरिने गरेको उपाध्यक्ष कँडेलले बताए ।
विकासमा देखिएको अवरोध हटाउन समस्याहरू समितिमा लिएर जाने गरिन्छ । मन्त्रालयगत छलफलपछि त्यसलाई प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको समितिमा लैजाने गरिन्छ । त्यहाँ पुगेका समस्यालाई समाधान गर्न प्रधानमन्त्री ओलीको उपस्थितिमा योजना आयोगले निर्देशन दिन्छ ।
तर, अहिलेसम्म कुनै पनि निर्देशनहरू कार्यान्वयनमा आएका छैनन् । त्यही भएर एनड्याकको बैठकका लागि ओलीले समय नदिएको बताइएको छ । अहिले केही दिनदेखि राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक चलिरहेको छ ।
विभिन्न मन्त्रालयले आफ्नो प्रगति विवरणदेखि आफू मातहत रहेका आयोजनाहरूका बारेमा गत मंगलबारदेखि शुक्रबारसम्म आयोगसँग छलफल गरिरहेका छन् । उपसमितिमा छलफल सकिएपछि प्रधानमन्त्रीको समय लिएर समितिको बैठक राखिने आयोगले जानकारी दिएको छ । चार दिनसम्म बैठक चल्ने छ ।
त्यसपछि त्यहाँ देखिएका समस्यालाई समितिमा लगिन्छ । समितिबाट समस्याको निरुपण गरिने आयोगका उपाध्यक्ष कँडेलले जानकारी दिए । अहिले प्रधानमन्त्री ओलीसमक्ष समय लिने काम भइरहेको छ ।
४५ औं बैठकमा प्रधानमन्त्री ओलीले समयमा निर्माण कार्य नसक्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न निर्देशन दिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । अहिले पनि बीचमै सडक अलपत्र पारेर भाग्ने काम रोकिएको छैन ।