काठमाडौं । बैंकिङ समूह र अन्य समूहमा सूचीकृत नेपाल इन्फास्ट्रक्चर बैंक चम्किएपछि मंगलबार सेयर बजार सम्हालिएको छ । मंगलबार सुरुदेखि नै बजारमा चमक थियो । त्यसको प्रभाव अन्तिमसम्म कायम रहिरह्यो । जसले नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकलाई थप झर्नबाट जोगायो ।
आइतबार कारोबार सुरु भएको अन्य समूहको नेपाल इन्फास्ट्रक्चर बैंकको सेयर मूल्य पनि सुरुमै करिब १० प्रतिशत बढेर कारोबार भएपछि नेप्सेको घट्ने क्रमलाई रोक्न टेवाको भूमिका खेल्यो । यद्यपी चन्द्रागिरि हिल्स कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन ऊर्जा विकास कम्पनी र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा माथि बढेको छ ।
यो पनि हेर्नुहोस
बैंकको कब्जाबाट खुस्किँदै सेयर बजार, बिमा कम्पनीको दबदबा बढ्दो
बजार १५.५ अंकले बढेर २६०१.५१ अंकमा रोकिएको छ । मंगलबार २६३१.३८ अंकसम्म बजार पुगेको थियो । कारोबार रोकिनुअघि सोमबारको विन्दुलाई छाडेर २५८४.१४ अंकसम्म झरेको थियो ।
मंगलबारको कारोबारमा सुरुबाटै देखिएको भी यू हुँदै भर्याङ आकारमा झरेको परिसूचक अन्तिम समयमा पुनः भी आकारमा बढेको प्रवृत्तिले बुधबार सुरुवाती चरणमा मंगलबारको उच्च विन्दुलाई पछ्याउने संकेत गरेको छ ।

कारोबार रकममा खासै सुस्तता नदेखिएको र बैंकिङ समूहले बजारलाई सहयोग गरेकाले बुधबार सुरुवाती कारोबार उचालिए पनि लगानीकर्ताले छिटो नाफा बुक गर्न खोजे भने बुधबार कारोबारको अन्तिम समयतिर सूचक घट्न पनि सक्छ । यद्यपी बुधबार नयाँ उचाइ लिने संभावना कायमै छ ।
यो पनि हेर्नुहोस
मौद्रिक नीतिको प्रेसर, नेप्से सूचक र कारोबारले छलाङ मंगलबार पनि कायमै राख्ला ?
मंगलबार १० अर्ब ३ करोड रुपैयाँ थियो । दैनिक कारोबारमा १० अर्ब रुपैयाँ नाघेको यो चौथो दिन हो । सोमबार र गत साताको आइतबार १० अर्ब रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ । मंगलबार बजार बढ्नलाई विकास बैंक समूह र म्युचुअल फण्डको समर्थन देखिए पनि अन्य समूहका सूचक भने राताम्यै भएका छन् ।
बजार घटेका कम्पनीहरुको पनि रफ्तार भने कम देखिएको छ । सबैभन्दा बढी सेयर मूल्य घटेको साधना लघुवित्तको ६.१५ प्रतिशत छ भने बाँकीको त्योभन्दा कम छ । मंगलबार बढी रकमको कारोबार हुनेमा बैंकिङ समूह देखिएको छ । नबिल बैंक एक्लैको ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रमुख १० ठूला कारोबारमध्ये ६ वटा वाणिज्य बैंकहरु छन् । बैंकिङ समूह ३८.४१ अंकले बढेको छ । यसको बजार हिस्सा पुँजीकरणका आधारमा ३० प्रतिशत छ । त्यस्तै ५.५४ अंकले बढेको अन्य समूहको हिस्सा १२ प्रतिशत छ । यद्यपी यो समूहमा रहेको इन्फास्ट्रक्चरको मूल्य जोडिए पनि हिस्सा भने जोडिएको छैन ।
