काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साताको अन्तिम दिन बिहीबार नयाँ उचाइ लिएको छ । गत साता र यो साताको आइतबार घटेको बजारले फेरि नयाँ उचाइ कायम गरेको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि सेयर बजारले लय समातेको छ । हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । यद्यपी नेप्से सूचक रफ्तार भने सुरुमा उच्च र त्यसपछि सुस्त फेरि उच्चतातर्फ केन्द्रित छ ।
सोमबार ९२ अंक, मंगलबार १५, बुधबार १० र बिहीबार २५ अंकले बजार बढेको छ । बिहीबार पनि सेयरको माग र आपूर्तिबीच तिब्र प्रतिस्पर्धा देखिन्छ । सुरुवातमा बढेर २६३६ अंकमा पुगेको बजार १५ मिनेटमै २६२० मा झरेको थियो ।
त्यसपछि फेरि उचाइ लिन थालेको बजारले एक घण्टामा पुनः २६३६ अंकमै फर्किएको थियो । त्यसपछि पनि बजार ओरालो लाग्यो र २६२४ सम्म झर्याे । त्यसपछि भने बजारले नयाँ लय समात्यो र २६४२ अंकसम्म चढ्यो । यतिबेलासम्म २ बजिसकेको थियो । त्यसपछि भने बजार केही नियन्त्रित हुन खोज्यो र अन्तिम समयमा २६३६.६८ अंकमा रोकियो ।
बिहीबार पनि सेयर बजार बढ्ने वातावरण बनाउन बैंकिङ समूहले नै प्रमुख भूमिका खेल्यो । यो समूहको सूचक २३ अकले बढ्यो भने विकास बैंक, व्यापार र अन्य समूहले पनि साथ दिँदा बजार उकालो लागेको हो ।
यो पनि हेर्नुहोस
सेयर बजार अझै माथि चढ्ने मुडमा, बुधबार मुस्किलले माथि उक्लियो
बिहीबारको बजारमा जीवन तथा निर्जीवन बिमा र लघुवित्त समूहमा भने गिरावट आएको छ । कारोबारको रफ्तार र नेप्से प्यार्टनले आइतबार बजार केही करेक्सन हुने संभावना छ । तर, कारोबार रकमको चाप र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) प्रतिको लगावले खस्किनबाट रोक्नपछि सक्छ ।
यो साता ४ दिनमा १४० अंकले सूचक बढेको । त्यसमा बैंकिङ समूहले मुख्य भूमिका खेलेकाले लगानीकर्ता नाफाबुकको चरणमा प्रवेश गर्ने संभावना देखिन्छ । लगानीकर्ताको बिक्री मुड र बाजारिक अफवहाको शिकार लगानीकर्ता बनेन् भने बजारले नयाँ उचाइ कायम गर्न पनि सक्छ । बिहीबारको कारोबार रकम बढेकाले पनि आइतबार सकारात्मक सन्देश दिने संभावना प्रवल छ ।
बिहीबार ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार ८ अर्ब ३ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ । बिहीबारको नेपाल हाइड्रो डेभलपर्सले १० प्रतिशतले मूल्यवृद्धि गरेको छ भने कर्णाली विकास बैंक, एभरेष्ट बैंकको अग्राधिकार, वेस्ट फाइनान्स, सिभिल बैंकक निफ्रा, समृद्धि फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।
बजार बढे पनि केही कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ । यो साता लगातार बढेका मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन ऊर्जा विकास कम्पनी, सर्पोट माइक्रोफाइनान्स अजोड इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, सामुदायिक लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, फरवार्ड माइक्रोफाइनान्स लगायतको सेयर मूल्य घटेको छ । यद्यपी सबैभन्दा बढी सेयर मूल्य घटेको मिर्मिरेको ४.९ प्रतिशत छ ।
