काठमाडौं । सेयर बजार पुनः लयमा फर्किएको छ । साताको दोस्राे दिन सोमबार २४ अंकले घटेको बजार मंगलबार भने १४.५७ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५२८.९५ अंकमा पुगेको छ । कारोबारको सुरुवाती चरणमा घटेर २४९६ अंकमा झरेको बजार पछि सम्हालिएको थियो ।
मंगलबार बैंक विकास बैंक, वित्त, उत्पादनमूलक र जीवन बिमा उपसूचकमा गिरावट आएको छ । यस्तै व्यापार, होटल एन्ड टुरिज्म, जलविद्युत, निर्जीव बिमा, लघुवित्त, लगानी र म्युचअल फण्डको सेयर मूल्य बढेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ५५० रुपैयाँ पुगेको छ । यस्तै चन्द्रागिरी हिल्स, रसुवागढी हाइड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, सान्जेन जलविद्युत कम्पनी, वोमी माइक्रोफाइनान्स, अपर तामाकोसी हाइड्रोपार र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
सबैभन्दा बढी व्यापारको ३४६, होटलको १५५, जलविद्युतको १२९, निर्जीवन बिमाको १७४ र लघुवित्तको ६९ अंकले बढेको छ ।
मंगलबार ५ अर्ब १४ करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी कारोबार भएको छ । निफ्राको प्रतिकित्ता ५४० मा ५२ करोड ६० लाख, अपर तामाकोसी ७९८ मा ३२ करोड ८१ लाख र नेपाल बंगलादेश बैंकको ३६९ मा २८ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।