काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आफ्ना सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज यहाँ सम्पन्न १३ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रति सेयर ४० रुपैयाँका दरले नगदलाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।
टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए ।
उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए ।
टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु १० करोड र कर्मचारीको तर्फबाट २ करोड गरी १२ करोड रुपैयाँ योगदान गरेको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा ३५ अर्ब ५ करोड रुपैयाँ बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९९ करोड आम्दानी र ९ अर्ब ७५ करोड रुपैयाँ नाफा भएको बताइएको छ ।