काठमाडौं । अजोड इस्योरेन्सले ५० प्रतिशत हकपद सेयर जारी गर्ने भएको छ । सोमबार बसेको सञ्चालक समितिको बैंठकले हकपद सेयर जारी गर्ने प्रस्ताव आगामी वैशाख ७ गते हुने साधारणसभामा पेस गर्ने निर्णयसमेत भएको छ ।
इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कुमारबहादुर खत्रीले कम्पनीको पुँजीवृद्धिका लागि हकप्रद सेयर जारी गर्न लागिएको बताए । सञ्चालक समितिले सेयर जारी गर्ने निर्णय गरेर साधारणसभामा पेस गर्ने निर्णय भएको छ, सीईओ खत्रीले भने, यो हुँदा कम्पनीको पुँजी १ अर्ब ५० करोड हुन्छ ।’
हाल अजोडमा ७० प्रतिशत सेयरधनीको लगानी छ भने ३० प्रतिशत सर्वसाधारणको गरी १ अर्ब पुँजी छ । बिमा समितिले पछि आएर पुँजी वृद्धि गर भनेर सर्कुलर जारी गर्दा एकैपटक समस्या हुने भएकाले पनि कम्पनीको पुँजी विस्तारै वृद्धि गराउँदै लैजानुपर्छ भन्ने मान्यताका साथ हकप्रद सेयर जारी गर्न लागिएको सीईओ खत्रीको भनाइ छ ।
अहिलेबाटै योजना बनाएर १ अर्बबाट ५० करोड बढाउँदा कम्पनीको पुँजी पनि बढ्ने र जोखिम मोल्न सक्ने क्षमता पनि उच्च रहनेछ । ‘जति जोखिम मोल्न सक्ने क्षमता हुन्छ, त्यतिनै भोलिका दिनका नाफा अर्थात बिजनेस पनि बढ्ने भएकाले पुँजी वृद्धिको योजना बनाएको हो,’ सीईओ खत्रीले भने ।
हामी आएसँगै बिमा क्षेत्रमा एनएफआरएस लागू भयो । यसले गर्दा तत्कालीन वित्तीय अवस्था केही खस्किएको हो कि भन्ने जस्तो देखियो । सुरुका वर्ष यस्तै हुन्छ । तर, गत वर्ष भने सकारात्मक भएको वित्तीय विवरण सार्वजनिक गर्न सक्यौं । यद्यपि चालू वर्षनै लाभांशभने दिन सकिँदैन । चालू वर्ष सकिएपछि भने लाभांश दिने तहमा जान सक्ने अवस्था बन्न सक्छ ।
वैशाखमा साधारणसभाबाट सर्वसाधारणको तर्फबाट पनि सञ्चालक समितिमा नियुक्त हुनेछन् । अहिलेसम्म संस्थापकबाट मात्र सञ्चालक समिति सदस्य छन् ।
हकप्रद सेयर साधारणसभाले पास गरेपछि छिटोमा असार र ढिलोमा भदौ भित्रमा जारी भइसक्छ । साधारणसभाले पास गरेपछि मात्र प्रक्रियामा जाने भएकाले अहिले नै कहिलेबाट जारी हुन्छ भन्ने यकिन भने हुन नसकेको बताए ।