काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट सुधारिएर आउने हल्ला बजारमा फैलिएपछि सेयर सूचकमा त्यसको सकारात्मक प्रभाव परेको छ ।
बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासमा नाफा घटेपछि बजारमा त्यसको नकारात्मक असर परेको थियो । तर, तेस्रो त्रैमासमा नाफामा बढोत्तरी हुने हल्ला बजारमा फैलिएपछि सेयर सूचक उकालोतर्फ अघि बढेको हो ।
एकातिर बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासको रिपोर्टले बजार उचालिएको छ भने अर्कोतिर बजारमा पर्याप्त मात्रामा लगानीयोग्य रकम भएको र अझै ब्याजदर घट्ने संकेत देखिएपछि सेयर बजारमा लगानीकर्ता आकर्षित भएका हुन् ।
केही दिन अघिसम्म कारोबार निरन्तर घटेकाले बजार अझै करेक्सन हुने आशका गरिएको थियो । तर, मंगलबार तथा बुधबार कारोबार रकममा पनि वृद्धि भएकाले बजारले उकालो यात्रा तय गरेको लगानीकर्ताले अनुमान लगाएका छन् ।
६ अर्ब रुपैयाँभन्दा माथि कारोबार भएको अवस्थामा बजार बढ्ने संकेतको रुपमा लिइन्छ । विगत दुई दिन देखि ६ अर्ब रुपैयाँ बढीको कारोबार भइरहेको छ । यसबाट पनि बजार बढ्ने आँकलन गरिएको हो ।
बुधबार ६ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा कारोबार केही कमी भए पनि ६ अर्ब रुपैयाँ भन्दा बढी कारोबार भएकाले बिहीबार पनि सेयर बजार बढ्ने लगानीकर्ता बताउँछन् ।
सरकारले विस्तारै पुँजीगत खर्च बढाउने लगेको र बजारमा तरलता बढ्दै गएकाले तत्कालै ब्याजदर बढ्ने सम्भावना छैन । अर्कोतिर बैंकहरुले विभिन्न सेवा शुल्कबाट पनि राम्रो आम्दानी गरेको छन् । त्यसबाहेक आफूसँग भएको माइक्रोफाइनान्सको सेयर बेचेर पनि नाफा बढाएकाले बजारमा सकारात्मक सन्देश प्रवाह भएको देखिएको छ ।
मंगलबार ३२ अंकले बढेको सेयर बुधबार ४३.३६ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६१९ अंकमा पुगेको छ । एचआइडीसीएल, अपर तामाकोसी, निफ्रा, नबिल, एनआईसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ ।