काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सुरुमा केही घटेको बजार पछि सम्हालिएर १२.८८ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६३१.८९ अंकमा पुगेको छ । बजार खुल्दा २६४५ अंकमा रहेको बजार केही समयपछि घटेर २६१६ अंकमा आइपुगेको थियो । त्यसपछि पुन बजार उकालो लाग्यो ।
सेयर बजार बढेसंगै कारोबार रकममा पनि सुधार आएको छ । बिहीबार ७ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । अपर तामकोसी हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
अपर तामाकोसीको ८८० रुपैयाँमा २९ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को ४४४ मा २४ करोड र अपी पावर कम्पनीको ३४० मा २३ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
अपर तामाकोसी आयोजनाबाट वैशाखदेखि बिजुली उत्पादन थाल्ने हल्ला चलेपछि कम्पनीको बढी कारोबार भएको हो । यस्तै एचआईडीसीएलले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यसको असर बजारमा परेको हो ।
यस्तै सान्जेन जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको सेयर १० प्रतिशतले बढेर ३८५ रुपैयाँमा कारोबार भएको छ । युनाइटेड फाइनान्सको ९.९५ प्रतिशतले बढेर ४२० रुपैयाँ पुगेको छ । ७ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको नेप्सेले जनाएको छ ।
बिहीबार होटल एन्ड टुरिज्म, जीवन बीमा, म्युचअल फण्ड र इन्भेस्टमेन्ट उपसूचकमा गिरावट आएको छ । बैंक, विकास बैंक, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य उपसूचकमा वृद्धि देखिएको छ ।