काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४० दिन अघिको २६४०.३५ अंकलाई उछिन्दै अघि बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले बढेर २६५७.६१ अंकमा पुगेको छ ।
नेप्से सूचकले उच्च विन्दुमा पुगेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आइतबार ९ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यद्यपी कारोबार रकमले भने यसअघिको उच्चतालाई तोड्न सकेको छैन । खासगरी आइतबार निर्जीवन बिमा कम्पनीहरु चम्किएसँगै सेयर बजारले नयाँ उचाइ प्राप्त गरेको हो । आइतबार उच्च मूल्य वृद्धि हुनेमा अधिकांश निर्जीवन बिमा कम्पनीहरु छन् ।
केही दिनअघि मात्रै कारोबार खुलेको वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । वोमीको सेयर मूल्य ९.९९ प्रतिशतले सेयर बढ्दा जनरल इन्स्योरेन्स कम्पनीको ९.९९ प्रतिशतले नै बढेको छ ।
यी दुई कम्पनीलाई पच्छाउँदै राधी विद्युत कम्पनीको ९.९८, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ ।
निर्जीवन बिमा कम्पनीहरुले एकपछि अर्को हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले निर्णय सार्वजनिक भएसँगै सेयर बजार सकारात्मक प्रभाव परेको हो । घट्दो बजारलाई उकास्न अजोड इन्स्योरेन्स कम्पनीको ५० प्रतिशत हकप्रद सेयर दिने निर्णयले ठूलो काम गरेको छ ।
अजोडसँगै आइएमई जनरलले पनि ४० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले बिमा कम्पनीहरुमा पुँजी कम रहेको बताउनु र केही कम्पनीहरुले हकप्रद सेयर निष्कासनको घोषणा गर्नुले सेयर बजार उचाल्न मद्धत पुर्याएको हो ।
वोमी लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया लघुवित्त वित्तीय संस्था मर्जरपछि केही समयअघि मात्रै कारोबार खुलेका कम्पनी हुन् । उनीहरुको सेयर खुलेदेखि निरन्तर बढी रहेका छन् ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाश सकिन लाग्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको नाफा बढेको सूचनाहरु बाहिरिएसँगै बैंकिङ समूहले पनि बजार उकास्न मद्धत गरेको छ ।
आइतबार व्यापार, होटल र पर्यटन, म्युचअल फण्ड, लगानी र उत्पादन तथा प्रशोधनमूलक समूह सूचकहरुमा गिरावट आएको छ । सबैभन्दा धेरै सेयर मूल्य घट्नेमा साल्ट ट्रेडिङ कर्पोरेसनको ४.६३ प्रतिशत छ ।
कारोबार रकममा भने नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा)ले बाजी मारेको छ । निफ्राको ४६ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । निफ्रालाई पच्छाउँदै अपर तामाकोसी हाइड्रोपावरको २८ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।