काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार ५ औं दिन पनि बढेर कारोबार बन्द भएको छ । कारोबार खुल्ने वित्तिकै २६८१ अंकसम्म चढेको नेप्से त्यसपछि भने घट्दो क्रममा थियो ।
खुलेको करिब १ घण्टामा २६४० अंकमा झरेको बजार त्यसपछि सुधार हुने र सामान्य गिरावट आउने हुँदै अन्तिम समयमा आइतबारको भन्दा १ अंकले बढेर २६५८.७४ अंकमा कारोबार रोकिएको छ ।
२६४० त्यही विन्दु हो, जसले सेयर बजार सूचकलाई अविश्मरणीय बनाउँदै ४१ दिन अघि उच्चता कायम गरेको थियो । त्यसपछि घट्दै बढ्दै गरेको बजार दुई साता अघि २३८९ अंकसम्म झरेको थियो । त्यसपछि बढ्ने घट्नेक्रमलाई निरन्तरता दिँदै नयाँ उचाइमा समाउँदै अघि बढेको नेप्सेले आइतबार पुरानो रेकर्डलाई तोेडेको थियो । सोमबार झिनो अंकले भएपनि आइतबारको रेकर्डलाई अन्तिम समयमा तोडेको छ ।

सोमबारको कारोबार प्रवृत्ति र खरिद चापमा देखिएको असरले बजार अझै माथि चढ्ने संकेत गरेको छ । यस अघि नै विश्लेषकहरुले सेयर बजार नयाँ आर्थिक वर्ष अगावै २८०० भन्दा माथि जाने बताउँदै आएका छन् । यद्यपि, लगानीकर्ताले कस्तो सेयर किन्ने र कुन बेला किन्ने÷बेच्ने भन्ने निर्णय भने आफै गर्नुपर्ने छ । लगानीकर्ताले सही समयमा सेयर बेच्न नसकेमा कुनै पनि बेला घाटा खानुपर्ने हुन सक्छ ।
सोमबार कारोबार रकममा भने केही कमी आएको छ । आइतबार ९ अर्बभन्दा बढी कारोबार भएकोमा सोमबार ७ अर्ब २९ करोड रुपैयाँमा खुम्चिएको छ । मर्जरपछि कारोबार खुलेका एनआईसी लघुवित्त, वमी लघुवित्तसहित राधी जलविद्युत् कम्पनी, सानीमा जनरल इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
त्यसलाई पच्छ्याएको हिमालयन जनरल ६.५० प्रतिशत र चन्द्रागिरिको ५.५० प्रतिशतले सेयर मूल्य बढेको छ । सामान्य बढेको बजारमा सेयर घट्ने कम्पनीहरुको मूल्यमा भने धेरै फरक परेको छैन् । सबैभन्दा बढी मूल्य घटेको गोर्खाज् फाइनान्सको ४ प्रतिशतले घटेको छ । सोमबार माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै ३४ करोड ७५ लाखको सेयर किनबेच हुँदा आइएमई जनरल इन्स्योरेन्सको ३१ करोड ३४ लाख छ ।