काठमाडौं । साताको तेस्रो दिन सेयर बजार बढेको छ । मंगलबार बजार १५.७२ अंक बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६७४ अंकमा पुगेको छ ।
मंगलबार होटल तथा पर्यटन, जलविद्युत, विकास बैंक, उत्पादन, लघुवित्त, इन्भेस्टमेन्ट र म्युचुअल फण्ड उपसूचक बढेका छन् । यस्तै बैंक, व्यापार, वित्त, जीवन तथा निर्जीवन बिमा र अन्य उपसूचक घटेका छन् ।
बजार खुल्दा २६७८ अंकमा रहेको बजारपछि घटेर २६४३ अंकमा झरेको थियो । त्यसपछि बजार सम्हालिएर निरन्तर उकालो लागेको थियो । बजार बढ्नमा जलविद्युत कम्पनीहरुको मुख्य भूमिका देखिएको छ ।
मंगलबार युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, चिलिमे हाइड्रोपावर र चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको नेप्सेले जनाएको छ ।
यस्तै ९ प्रतिशत माथि सेयर मूल्य बढ्नेमा अधिकाँश जलविद्युत र लघुवित्त कम्पनीहरु रहेका छन् । २ वटा कम्पनीको मूल्य ८ प्रतिशत माथि बढेका छन् ।
मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी सेयर किनबेच भएको छ । निफ्राको प्रतिकित्ता ६०५ मा ३९ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै चिलिमे हाइड्रोपावरको ६८२ मा ३१ करोड १० लाख र अपर तामाकोसी हाइड्रोपावरको ९०७ मा २९ करोड २० लाख रुपैयाँमा सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।