काठमाडौं । सम्हालिन नसक्दा बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार खुल्दा २६९४ अंकमा पुगेको बजार घटेर २६७२ अंकमा अडियो ।
त्यसपछि पुनः उकालो लागे पनि सम्हालिन नसक्दा बजार बन्द हुँदा २.८५ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६७१ अंकमा अडियो । मंगलबार बजार १५.७२ अंक बढेर नेप्से परिसूचक २६७४ अंकमा थियो ।
बजार सामान्य घटे पनि बैंक, होटल तथा पर्यटन, विकास बैंक, वित्त, लघुवित्त र म्युचुअल फण्ड उपसूचक बढेका छन् । यस्तै व्यापार, जलविद्युत, जीवन तथा निर्जीबन बीमा, उत्पादनमूलक लगानी र अन्य उपसूचकमा गिरावट आएको छ ।
बजार घटे पनि महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।
सेयर बजार घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार ७ अर्ब २६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
बुधबार पनि नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी सेयर किनबेच भएको छ । निफ्राको प्रतिकित्ता ५९२ मा २७ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । निफ्राको सेयर मूल्य घटेको छ ।
यस्तै चिलिमे हाइड्रोपावर कम्पनीको ६८१ मा २२ करोड १५ लाख र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १७२२ मा १९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।