काठमाडौं । नयाँ वर्षको पहिलो सातामै सेयर बजारमा उत्साहजनक कारोबार भएको छ । साताको अन्तिम दिन तथा नयाँ वर्षको दोस्रो दिन कारोबार रकममा उछाल आएको हो ।
बिहीबार ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड ९० लाख २० हजार ५२८ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार २१८ ओटा कम्पनीको ९५ हजार ७३७ पटकको व्यापारमा भएको हो । यसदिन कारोबार रकममा सर्वाधिक हिस्सा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ओगटेको छ ।
बिहीबार नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशत बढेर बन्द भएको छ । परिसूचक २० दशमलव ६७ अंक बढेर २ हजार ७३५ दशमलव ४६ विन्दुमा पुगेको हो । विसं २०७७ सालको अन्तिम कारोबार दिन चैत ३१ गने नेप्से परिसूचक २ हजार ७१४ दशमलव ७९ विन्दुमा बन्द भएको थियो ।
बिहीवार २ हजार ७३५ दशमलव ४० विन्दुदेखि खुलेको बजार २ हजार ७५५ विन्दुसम्म पुगेर तल झरेको हो । यो साताको तीन कारोबार दिन मात्र सेयर बजार खुलेको छ । आइतवार र बुधवार सार्वजनिक विदा परेकाले यो साता तीन दिन मात्र कारोबार भएको हो । तीन दिननै नेप्से परिसूचक बढेको छ ।
एनआईसी एशिया लघुवित्तको ४९ करोड ८९ लाख ६३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबारसँगै यो दिन कम्पनीको सेयरमूल्य पनि ९ दशमलव ९५ प्रतिशतले बढेको छ । कारोबारको एक मिनेटमै कम्पनीको सेयरमूल्य उक्त दरमा बढेको हो । प्रतिकित्ता १६९ रुपैयाँले बढेर यो दिन कम्पनीको अन्तिम सेयरमूल्य १ हजार ८६८ कायम भएको छ ।
यसदिन बेष्ट फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने अन्य सात ओटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बेष्ट फाइनान्सको शेयरमूल्य प्रतिकित्ता १७ रुपैयाँले बढेर अन्तिम मूल्य १८७ रुपैयाँ कायम भएको हो । एनआईसी एशिया लघुवित्तसँगै यो दिन अन्य ६ ओटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, महिला लघुवित्तको ९ दशमलव ९२ प्रतिशत, ज्योति लाईफ इन्स्योरेन्सको ९ दशमलव ९२ प्रतिशत, ग्रिन डेभलपमेण्ट बैंकको ९ दशमलव ६८ प्रतिशत, छ्याङ्दी हाइड्रोको ९ दशमलव ६७ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव ६४ प्रतिशत र सप्तकोशी डेभलपमेण्ट बैंकको ९ दशमलव ५७ प्रतिशत शेयरमूल्य बढेको हो ।
बिहीबारको बजारबाट मल्टिपर्पस फिनान्स, नेशनल माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तका शेयरधनीहरुले भने सर्वाधिक गुमाएका छन् । यो दिन मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ३ दशमलव ६७ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ३ दशमलव ५२ प्रतिशत र स्वाभिमान लघुवित्तको ३ दशमलव ४६ प्रतिशत शेयरमूल्य घटेको हो ।
बिहीबार व्यापारिक समूह र जलविद्युत् समूह बाहेकका सबै परिसूचक बढेका छन् । व्यापारिक समूहको २ दशमलव ५३ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव ३४ प्रतिशत परिसूचक घटेको हो ।
विकास बैंकको परिसूचक भने यस दिन सर्वाधिक ३ दशमलव १२ प्रतिशत बढेको छ । त्यस्तै वित्तको २ दशमलव २२ प्रतिशत, बैंकिङको १ दशमलव २२ प्रतिशत, लगानीको १ दशमलव ५७ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव २६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत, अन्यको शून्य दशमलव १६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ११ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको हो ।
विसं २०७७ सालदेखि सकारात्मक गतिमा अघि बढेको नेपालको सेयर बजारले अझै गति लिनेमा आम लगानीकर्ताहरु विश्वस्त रहेका छन् । बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रुपमा बढ्दै जानु र राम्रा कम्पनीहरु बजार प्रवेश गर्नुले पनि विसं २०७७ सालले सकारात्मक गति लिएको लगानीकर्ताहरु बताउँछन् ।