काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार ३५.८९ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६९९ अंकमा झरेको छ ।
लगानीकर्ताको विश्वास गुम्दै गएपछि निरन्तर ओरालो लाग्यो । बजार खुलेको आधा घण्टामा बजार घटेर २७१६ अंकमा झरेको थियो । त्यसपछि उकालो लागेर २७३९ अंकमा पुगेको थियो । त्यसपछि निरन्तर ओरालो लागेर बजार बन्द हुँदा २६९९ अंकमा आएर रोकिएको छ ।
आइतबार म्युचुअल फण्ड बाहेक सेयर बजारका सबै उपसूचकहरु रातामै भएका छन् । बैंक ३३, व्यापार १२५, निर्जीवन बिमा १८३, लघुवित्त ५० र जीवन बिमा १११ अंकले गिरावट आएको छ ।
सेयर बजार घटे पनि कारोबार रकम बढेको छ । आइतबार ८ अर्ब ८० करोड १८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार ८ अर्ब ६३ करोड ६६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ ।
एभरेष्टको प्रतिकित्ता ८११ मा ८७ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको १८९९ मा ५५ करोड ३२ लाख र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ५८५ मा २७ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
बजार घटे पनि ४ वटा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ । महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, दिब्यश्वरी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको ९ प्रतिशत माथि बढेको नेप्सेले जनाएको छ ।