काठमाडौं । उद्योगका प्लान्टमा अक्सिजन भर्ने कर्मचारीलाई कोरोना भाइरसको संक्रमण हुँदा उत्पादनमा गम्भीर समस्या आउने भएको छ । अक्सिजन उत्पादक संघले प्लान्टमा काम गर्ने कर्मचारीलाई खोप लगाइदिन सरकारसँग गरेको बारम्बार आग्रहलाई वेवास्ता गर्दा अहिले उत्पादनमा गम्भीर समस्या आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन उद्योगमा काम गर्ने सम्पूर्ण कर्मचारी फ्रन्टलाइनर भएको जानकारी गराइसकेको छ । उनीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेर खोप लगाउन संघले गरेको आग्रहलाई सुनुवाई नगर्दा गम्भीर समस्या आएको हो ।
अहिले उद्योगमा काम गर्ने ४० प्रतिशत कर्मचारी कोरोनाको शिकार भइरहेका छन् । अक्सिजन जसले पायो उसले भर्न सक्दैन । अक्सिजन भर्न प्राविधिक जनशक्ति नै चाहिन्छ । अहिले त्यही जनशक्ति कोरोनाबाट थलिएर बसेको संघले जानकारी गराएको छ ।
आधिकारिक रुपमै अक्सिजन उद्योगमा काम गर्ने कर्मचारीलाई फ्रन्टलाइनर हुन् र उनीहरुलाई राज्यले उच्च प्राथमिकतामा राखेर भ्याक्सिन लगाउन माग गर्न पनि सुनुवाइ नभएको गुनासो संघको छ ।
यो पनि हेर्नुहोस
अक्सिजनको चरम अभाव हुँदा पनि चलेनन् उद्योग १२ घण्टाभन्दा बढी
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले उद्योगका कर्मचारी कसरी फ्रन्टलाइनर भए ? भनेर प्रतिप्रश्न गरेर फर्काएको गुनासो उद्योगीको छ । स्वास्थ्यमा चिठी दर्ता गर्ने व्यक्तिले आफूभन्दा माथिल्लो निकायलाई उद्योगका कर्मचारी अत्यावश्यकभित्र नपर्ने र उनीहरुलाई तत्काल खोप लगाउन नहुने व्याख्या गरेपछि उनीहरु खोप लगाउनबाट बञ्चित भएका थिए ।
अहिले देशमा अक्सिजनको चरम अभाव छ । अस्पतालहरुले अक्सिजन अभाव देखाएर विरामीलाई हस्पिटलबाट फर्काउने तथा भइरहेका विरामीलाईसमेत अक्सिजन आफै जोहो गर्न भनिरहेका छन् । यस्तो बेलामा अक्सिजन उद्योगका कर्मचारी धमाधम कोरोना संक्रमणबाट थलिएकाले उद्योगको क्षमता समेत घट्न थालेको छ ।
अहिले २४ सै घण्टा उद्योग चलाएर अक्सिजन बजारमा पठाउनुपर्ने बेला हो । ‘तर, कर्मचारीलाई नै कोभिड संक्रमण भइसकेपछि कहाँबाट अक्सिजन भरेर पठाउनु ?,’ एक उद्योगीले भने, ‘सरकारले अक्सिजन उद्योगमा काम गर्ने कर्मचारीको आवश्यकता कस्तो छ भनेर नबुझ्दा अहिले समस्या निम्तिएको हो ।’
विरामीका कुरुवा अक्सिजन उद्योगको गेट कुरेर बसिरहेका छन् । उनीहरुको चित्कार सुन्न र देख्न नसकेपछि उद्योगका प्रवन्धकहरुले उनीहरुलाई उपलब्ध भएसम्म अक्सिजन दिने गरेका छन् ।