एजेन्सी । अहिले नेपाली स्मार्टफोन प्रयोगकर्ताको स्क्रिनमा नयाँ सामाजिक सञ्जाल क्लब हाउसको आइकन देखिन थालेको छ ।
अडियो सेयरिङ प्लेटफर्म क्लब हाउसको लोकप्रियता नेपालमा यति बढेको छ कि बिहानदेखि रातिसम्म क्लब हाउसमा अनेकन गु्रपमा घन्टौं गफिनका लागि युवादेखि पाका उमेरका प्रयोगकर्ताहरू सक्रिय छन् ।
सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, टिकटक, ह्वाट्याप, भाइबर, इमो आदि प्रयोगकर्ताका लागि अपरिहार्य बनिरहेका बेला प्रत्यक्ष अडियो सेयरिङ प्लेटफर्म क्लब हाउसले पनि लोकप्रियता हासिल गर्न थालेको हो ।
क्लब हाउस पनि एउटा एप हो, जसबाट आफ्ना भनाइ राख्न तथा अरूको विचार बुझ्न सहजै सकिन्छ । पूर्णतया अडियो प्रविधि भएकाले यसको लोकप्रियता अझ बढी छभन्दा फरक नपर्ला । किनभने क्लब हाउस जोइन गरेर अन्य काम पनि गर्न सकिन्छ । यसरी एउटै समयमा दुईतिर काम गर्न सकिने भएकाले लोकप्रियता बढी भएको हो । अल्फा एक्सप्लोरेसन कम्पनीका पल डेभिसन र रोहन सेठले क्लब हाउस बनाएका हुन् । उनीहरू पूर्व गुगल इन्जिनियर हुन् ।
क्लब हाउसमा सेलिब्रेटीहरूसँग पनि भेट हुने भएकाले प्रयोगकर्ताले महत्वपूर्ण अवसरका रूपमा समेत लिने गरेका छन् । उद्योगी, व्यापारी, कलाकार, मिडियाकर्मी, वकिलले पनि क्लब हाउस जोइन गरेका छन् । एप सन् २०२० अप्रिलमा सार्वजनिक गरिएको हो । हालसम्म १० करोडभन्दा बढी डाउनलोड भइसकेको क्लब हाउसको साप्ताहिक २ लाख सक्रिय प्रयोगकर्ता छन् । कम्पनीका अनुसार, क्लब हाउसमा ९ जना कर्मचारी छन् । क्लब हाउसका पहिलो प्रयोगकर्ता शील मोह्नोट हुन् ।
न्युयोर्क टाइम्समा एक महिलाले लेखेको रिपोर्टअनुसार सातामा ४० घण्टा उनले क्लब हाउसको प्रयोग गर्छिन् भने, अन्य प्रयोगकर्ताले पनि सातामा ११/१२ घण्टा क्लब हाउसको प्रयोग गर्ने गरेको ट्वीटमार्फत जनाएका छन् । सन् २०२१ जनवरीसम्म १ अर्ब डलर लगानी रहेको क्लब हाउसको एड्रिसेन होरोविट्जको नेतृत्वमा सिरिज बीको लगानी बढाएपछि अहिले १ अर्ब मूल्य छ । यो ८ महिना पहिलाको मूल्यभन्दा १० गुण बढी हो । क्लब हाउसका अनुसार, हाल १८० जना लगानीकर्ता छन् । यो नयाँ प्रविधि हो तर, क्लब हाउसका बारेमा संस्थापकले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
१ करोड प्रयोगकर्ता रहेको क्लब हाउसमा धेरै रुम तथा क्लब छन् । त्यहाँ कसैको अनुमति बिना आफूले चाहेको रुममा जोइन हुन र बाहिरिन सकिन्छ । साथै आफूलाई कुनै विषयमा बोल्न मन लागेमा हात उठाउने आइकन थिचेर स्पिकर प्यानलबाट आफ्नो कुरा राख्न सकिन्छ । आफ्नो कुरा सकिएपछि फेरि पहिलाकै अवस्थामा बसेर अरूको कुरा सुन्न सकिन्छ ।
त्यतिमात्रै होइन आफूलाई पनि रुम सञ्चानल गरेर छलफल गर्न मन लाग्यो भने एक शीर्षक थप्नुहोस् अप्सनमा थिच्नुपर्छ । जहाँ कोठा कस्तो बनाउने ? बन्द, सामाजिक वा खुला छान्न पाइन्छ । बन्द कोठामा आफूले इन्भाइट गरेका साथीमात्रै हुन्छन् । सामाजिक र खुलकोठामा जो कोही पनि जोडिन सक्छन् ।
क्लब हाउसको मुख्य फाइदा भनेको कुनै पनि व्यक्तिले आफ्नो मात्र नभई समग्र विश्व जगतका घटना क्रम र अवस्थाबारे जानकारी लिन तथा अन्य मुलुकका मान्छेको विचारसमेत बुझ्न सकिन्छ । स्मरण रहोस्, क्लब हाउसमा विदेशका मान्छेले सञ्चालन गरेको रुममा पनि जोइन हुन सकिन्छ ।
क्लब हाउस प्रयोग गर्ने बेला साइनअप प्रक्रियामा आफ्नो रुचिको क्षेत्र चयन गर्नुपर्छ । जसले गर्दा आफ्नो इच्छाको रुममा जोइन हुन सजिलो हुन्छ । क्लब हाउसमा पनि फलो÷फ्लोब्याकको सुविधार रहेको छ । फलो भएका मानिसले कुन रुम जोइन गरे त्यसको नोटिफिकेसन प्राप्त हुन्छ । त्यस्तै आफू जोइन भएको रुममा साथीलाई निम्ता गरी बोलाउन सकिन्छ । जसलाई इन्भिटेसन अन्ली भनिन्छ । यो एप आईओएसमा सबै र एन्ड्रोइडमा ४.४ भन्दा माथिका भर्सन रहेको डिभाइसमा प्रयोग गर्न सकिन्छ ।
पछिल्लो समय नेपालका युवा पुस्ताले आफ्नो विचार राख्ने साझा चौतारीका रूपमा क्लब हाउसलाई लिएका छन् । साथै उनीहरूले क्लब हाउसमा कोरोना प्रभाव, देशको राजनीतिक अवस्था, बजेट, शैक्षिक स्थिति, सेयर बजार, कला साहित्यका विषयमा छलफल गर्ने महत्वपूर्ण थलो बन्दै गएको छ ।