काठमाडौं । काठमाडौंका एक व्यापारीले एक साताअघि विदेशबाट एडिकोल मगाए । ती व्यापारीले मगाएको सामान भैरहवा भन्सार नाकामा आइपुगेपछि त्यहाँ कार्यरत कर्मचारीले जुन एचएस कोर्डमार्फत सामान मगाइएको थियो, त्यो एचएस कोर्डमा नेपाल भित्र्याउन मानेनन् ।
भैरहवा नाकामा खटिएका कर्मचारीले व्यापारीले बुझाएको प्रज्ञापनपत्र उल्लेख एचएस कोर्डमा सामान छिराउन मानेनन् । संसारभर एडिकोल एउटै एचएस कोर्ड हुन्छ ।
सो एचएस कोर्डमा भन्सार पास गराउँदा १० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । तर, भन्सारका कर्मचारीले १० प्रतिशत भन्सार लाग्ने ठाउँमा ३० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट जोड्ने बताए ।
आयातकर्ता व्यापारीले सामान भन्सारमै कुहियाउनुभन्दा जतिसुकै परे पनि सामान छुटाउने निधो गरे र ३० प्रतिशत भन्सारमै सामान छुटाउन राजी भए । पछि कर्मचारीले यदि हामीलाई १ लाख ५० हजार रुपैयाँ दिनुहुन्छ भने १० प्रतिशत भन्सारमै सामान छुटाइदिने बताए ।
त्यसपछि आयातकर्ता व्यापारीले डेढ लाख रुपैयाँ घुस खुवाएर १० प्रतिशत भन्सारमै सामान नेपाल भित्र्याए । डेढ लाख रुपैयाँ घुस दिएपछि प्रज्ञापन पत्रमा उल्लेख एचएस कोर्डले पनि काम गर्यो र सोहीअनुसार भन्सार मूल्याङ्कन पनि भयो ।
उनले जम्मा ४ लाख रुपैयाँ बराबरको एडिकोल (कार्पेटलगायतका वस्तु टाँस्न प्रयोग गरिने वस्तु) मगाएका थिए । उनको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि कर्मचारीहरुले व्यापारीसँग खुलेरै घुस माग्न थालेका छन् ।
अर्थ मन्त्रालयको नेतृत्व जनार्दन शर्माको काँघमा छ । उनी अर्थमन्त्री भएर आएपछि देशभरकै भन्सारमा रहेका कर्मचारीले खुलेआम पैसा माग्न थालेको व्यापारीहरुले गुनासो गरेका छन् ।
भैरहवा, वीरगन्ज, विराटनगरलगायतका प्रमुख भन्सार नाकामा काम गर्ने कर्मचारीले ठूला व्यापारीसँग भन्दा पनि साना आयातकर्ता व्यापारीसँग खुलेआम पैसा मागिरहेको ती आयातकर्ता व्यापारीको भनाइ छ ।
साना व्यापारीको पहुँच माथिल्लो तह वा मिडियासम्म नहुने र उनीहरुसँग पैसा माग्दा एक्स्पोजर पनि नभइने भएकाले त्यस्ता व्यापारीसँग ठाडै पैसा माग्न लागेको बताउँछन् ।
ठूला व्यापारीसँग पैसा खाने बित्तिकै एक्स्पोजर हुने र जागिर नै धरापमा पर्ने भएपछि त्यस्तासँग पैसा माग्ने आँट नगर्ने तर, साना व्यापारीसँग खुलेआम पैसा लिएर सामान छुटाउने गरेको उनीहरुको भनाइ छ ।
यदि उनीहरुले मागेअनुसार घुस नदिए गलत तरिकाले भन्सार मूल्यांकन गराउने, त्यसपछि सतप्रतिशत जरिवाना लगाउनेलगायत समस्या निम्तिन्छ ।
केही दिनअघि एक व्यापारीले ३५ लाख रुपैयाँको सामान मगाएका थिए । उनले भन्सारका अधिकारीले मागेजति पैसा दिन नमानेपछि उनलाई जरिवानासहित १ करोड रुपैयाँ दाखिला गर्न भनिएको छ ।
यसअघि यसरी खुलेआम पैसा माग्ने चलन थिएन । भैरहवाबाट सामान मगाएर कारोबार गर्दै आएको वर्षौं भइसक्यो । तर, अहिले पैसा नदिई नियम संगत आएको सामान पछि नछुट्ने व्यापारीहरु बताउँछन् ।
भन्सार विभागका महानिर्देशक यामलाल भुसालले आफूअन्तर्गतका कर्मचारीले घुस लिएर सामान नछुटाएकाे दाबी गरे । यदि कुनै कर्मचारीले यस्ताे गरेकाे भए प्रमाण लिएर आफ्नाे कार्यकक्षमा आउन आग्रह गरे ।