काठमाडौं । बंगलाबन्ध मार्गबाट धागो बाहेक हरेक वस्तु बंगलादेश निर्यात भइरहेको छ । त्यहाँबाट त तयारी पोसाकसहित सम्पूर्ण वस्तु बंगलादेशबाट नेपाल भित्रिरहेको छ । तर, बंगलादेशले त्यो रुटबाट तयारी पोसाक र धागो निर्यातमा रोक लगाएको छ ।
बंगलादेशले धागो तथा तयारी पोसाकको परीक्षण गर्ने कर्मचारी र मेसिनको अभाव देखाएर बंगलाबन्ध मार्गबाट ल्याउन नदिएको बताए पनि वास्तविकता अर्कै छ । बंगलादेश गार्मेन्टको ठूलो निर्यातकर्ता मुलुक हो । त्यहाँ ठुल्ठूला गार्मेन्ट उद्योग छन् ।
बंगलाबन्ध मार्गबाट नेपाली कपडा तथा धागो बंगलादेश जादा सस्तोमै त्यहाँ नेपाली उत्पादन पुग्छ र त्यसले बंगलादेशको गार्मेन्टको बजारलाई असर पुग्ने देखेपछि बंगलादेशले विभिन्न बहाना बनाएर उक्त मार्ग प्रयोग गर्न नेपाललाई रोक्दै आएको छ ।
केही समय अघिसम्म भारतलाई पनि उक्त मार्ग प्रयोगमा रोक लगाएको छ । तर, भारतीय सरकारले लिखित रुपमै खुलाउन आग्रह गरेपछि अहिले भारतीय गार्मेन्ट त्यही रुटबाट निरन्तर निर्यात भइरहेको छ । तर, नेपाली धागो तथा कपडा अहिले पनि अन्यत्र रुट भएर गइरहेका छन्, जसका कारण नेपालको उत्पादन महँगो भइरहेको जगदम्बा सेन्थेटिकका प्रबन्ध निर्देशक विष्णुप्रसाद न्यौपाने बताउँछन् ।
भारतले कूटनीतिक प्रयासबाट त्यो रुट खुलाएको हो । नेपालले पनि कूटनीतिक प्रयास गरेर खुलाउनुपर्ने न्यौपाने बताउँछन् । नेपाल सरकारले बंगलादेश सरकारसँग छलफल गरेर तत्काल खुलाउनुपर्ने उनको भनाइ छ । बंगलाबन्धबाट बंगलादेशले कपडासहित हरेक सामान पठाइरहेको छ । नेपालबाट पनि कपडा बाहेक हरेक सामान गइरहेको छ । गार्मेन्ट मात्रै जान नदिएको उद्योगीहरु बताउँछन् ।
‘सबै सामान आउन दिनू, तर गार्मेन्ट मात्रै नदिनुको पछाडि बंगलादेशको स्वार्थ देखिन्छ,’ धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले भने, ‘यो रुट खुलाउन हामीले परराष्ट्र मन्त्रालयलाई आग्रह गरिरहेका छौं ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बंगलाबन्ध मार्गबाट धागो जान बंगलादेशले खुला गरेको छैन। त्यो रुटबाट धागो पनि जान दिने विषयमा अनौपचारिक छलफल भइरहेको बताए ।
नेपालको धागो बंगलादेश पठाउँदा अहिले धेरै लामो रुट प्रयोग भइरहेको छ । जसका कारण लागत महँगो हुने प्रतिस्पर्धी गर्न नसकेको अवस्था छ । तर, बंगलाबन्ध मार्गबाट जाने हो भने धेरै सस्तोमा नेपाली उत्पादन बंगलादेश पुग्ने सक्ने मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् ।
सरकारले २४ वर्ष अघि काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध व्यापारिक मार्गबाट बंगलादेशसँंग औपचारिक व्यापार थालेको हो । यो रुटबाट व्यापार सुरु गरिरहँदा सरकारले दीर्घकालीन सोच बुनेको थियो, यसलाई कोलकाता–हल्दिया बन्दरगाहको बलियो विकल्पको रुपमा विकसित गर्ने ।
पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाका अनुसार बंगलादेश लगायत तेस्रो देशसंँगको व्यापारलाई दृष्टिगत गरी सरकारले करोडौं खर्चिएर मेची सुख्खा बन्दरगाहसमेत निर्माण गरेको छ । जुन सोचसाथ बंगलादेशसँग व्यापार सुरु भएको थियो, कालान्तरमा त्यस अनुरुपको उपलव्धि हासिल हुनपाएको छैन ।
उनका अनुसार बंगलादेशसँंगको व्यापारका लागि यो रुट सबभन्दा छोटो हो । काँकडभिट्टादेखि बागडोग्रा–घोषपोखर–फूलबारीसम्मको करिब ५४ किलोमिटरको दूरी पार गर्दा बंगलाबन्ध व्यापारिक रुट भेट्न सकिन्छ ।
‘सरकारले जुन सोच र उद्देश्यका लागि व्यापार सुरु गरेको थियो, त्यो उद्देश्य पूरा भए जस्तो लाग्दैन’ ओझाले भने, ‘विगत ५ वर्षयता बंगलादेशसँंगको निर्यात व्यापार घटेको छ । यो मुलुकका लागि गम्भीर चुनौतीको विषय हो ।’
नेपालको निर्यात व्यापार बढाउन बंगलाबन्ध मार्गबाट सबै उत्पादन जान दिने वातावारण मिलाउन बंगलादेश सरकारसँग नेपाल सरकारले कुटनीतिक प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
उद्योगी÷व्यवसायीको सक्रियता पछि वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रायले एक साथ कुटनीतिक प्रयास थालेका छन् । वाणिज्य मन्त्रालयले आफ्नो तर्फबाट र परराष्ट्र मन्त्रालयले आफ्नोतर्फबाट बंगलाबन्ध मार्ग खुलाउन पहल थालेका हुन् ।
नेपाली धागोमा बंगलादेशको बक्रदृष्टि
सन् २००३ पछि बंगलादेशले फूलबारी हुँदै बंगलाबन्ध धागो निकासी गर्न रोकेको थियो । त्यसपछि नेपालको पटक–पटकको आग्रहपछि बंगलादेशी आयातकर्ताले लाइसेन्स लिएर फूलबारी–बंगलाबन्ध हुँदै बंगलादेशले नेपाली यार्न आयात गर्न मञ्जुरी जनायो । तर, त्यहाँका आयातकर्तालाई यो उद्देश्य अनुरुप आयात गर्न लाइसेन्समै कडाइ गरेको छ ।
भन्सार विभागका तत्कालीन महानिर्देशक सुमन दाहालसहितको टोलीले यससम्बन्धमा बंगलादेशी समकक्षीको टोलीसँग सहजीकरण वार्ता समेत गरेको थियो । तर, त्यसले अन्तिम रुप पाएन ।
हाल नेपालबाट धागो आयात गर्ने प्रमुख मुलुकमा टर्की, भारत र बंगलादेश छन् । बंगलादेशको गैरभन्सार अवरोध हटाउने हो भने नेपाली धागोले बंगलादेशी बजारमा सहजै प्रवेस पाउने व्यवसायी बताउँछन् ।