काठमाडौं । मंगलबार साँझ (हिजो) हरेक अतिथिको स्वागतमा खटिएका थिए अनिल जाटिया । याक एन्ड यती होटलको बाल्कोनीबाट आफूले बोलाएका अतिथिहरु आए/नआएको नियाल्ने र आएको देख्ने वित्तिकै याक एन्ड यतिको भर्याङमा स्वागतका लागि पुगिरहेका थिए ।
आफैंले स्थापना गरेको एसियन कंक्रिटोको मंगलबार कार्यक्रम थियो । त्यही कार्यक्रममा आउने हरेक अथिति उनको आतिथ्यता ग्रहणपछि मात्रै कार्यक्रम हलमा प्रवेश गरिरहेका थिए ।
उनी एसियन कंक्रिटोलगायत दर्जन बढी व्यवसायका मालिक हुन् । तर, व्यवहारमा उनले आफूलाई कुनै पनि तरिकाबाट मालिकको दर्जामा राखेनन् । एसियन कंक्रिटोको उत्पादनका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा आउने हरेक पाहुनालाई उनले अति सम्मानका साथ सत्कार गर्दा पाहुना पनि प्रफुल्लित थिए ।
तर, जाटियाको आदर सत्कार गर्ने अद्भूतपूर्ण कला त्यो कार्यक्रम सकिएसँगै अन्त्य भएको छ । उनले त्यहाँ सहभागी झण्डै ८० जना पाहुनालाई व्यक्तिगत रुपमै भेटेर आफ्नो नम्रता, आदर सत्कार टक्र्याए । र उनका लागि त्यो नै अन्तिम अवसर बन्यो ।
याक एन्ड यतीको कार्यक्रम १० बजे सकिएको थियो । उनी कार्यक्रमको अन्त्यससम्म बसेर हरेक व्यक्तिसँग ‘चियर्स’ गरिरहेका थिए । देब्रे हातमा वाइन लिएर हरेक पाहुँनाको गिलासमा चियर्स गर्ने उनको स्वभाव ताजै छन् । थाेरै पिउने तर साथ दिने शैलीमा उनी यताउता पुगिरहेका थिए ।

(एसियन कंक्रिटोको मंगलबार साँझको कार्यक्रममा व्यवसायी जाटियाको यो तस्वीर नै अन्तिम बन्यो । जुन तस्वीर क्यापिटल नेपालकी फोटोपत्रकार नाजिया श्रेष्ठले खिचेकी हुन् ।)
कार्यक्रम सकेर जाटिया १०ः४५ मा घरतर्फ लागेका थिए । १०ः५० मा स्यामल झा पनि कार्यक्रम सकेर बाहिरिएका थिए । झालाई लागेको थियो ‘जाटिया सर घर पुग्नु भयो । ‘तर, बीचमै जाटियालाई हृदयघात भएपछि उनीलाई टिचिङ हस्पिटल लगिएछ । म त्यहाँ पुग्दा जाटियाले यो संसारलाई छाडेर गइसक्नु भएछ,’ झाले भने ।
५८ वर्षीय जाटिया प्राविधिक रुपमा बुझेका उद्योगी हुन् । उनी प्राविधिक रुपमा दक्ष थिए, त्यही भएर उनी उद्योगमै बसेर काम गर्थे ।
भद्र, मिलनसार र नम्र स्वभावले भरिपूर्ण जाटिया कहिल्यै पनि कर्पोरेट अफिसमा देखिँदैनथे । उनी धेरैजसो उद्योगमै हुन्थे । उत्पादनको गुणस्तर र मार्केटिङतिर जाटियाको बढि जोड हुन्थ्यो ।
‘काठमाडौंमा जन्मिएका जाटिया अत्यन्तै मिलनसार, मृदुभाषी र आफ्नो क्षेत्रमा अब्बल व्यक्ति हुनुहुन्थ्यो,’ व्यावसायिक साझेदार मनोज केडिया सम्झन्छ, ‘देशमा सबैभन्दा पहिला टेक्सटाइल उद्योग लगाउने परिवार नै जाटिया हो । चौथमल जाटियाले नेपालमा पहिलो पटक अन्नपूर्ण टेक्सटाइल उद्योग लगाएका थिए । उनैका छोरा हुन् अनिल ।’
पूर्वराजपरिवारसँग पनि जाटिया परिवारको उच्चतहको सम्बन्ध थियो । राजपरिवारले गर्ने कतिपय व्यवसायमा समेत जाटियाहरुको साझेदार थियो । वर्मामा सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि जाटियाहरु नेपाल आएर व्यावसायिक साम्राज्य खडा गरेको केडिया बताउँछन् । अनिलका एक छोरा छन् ।
व्यावसायिक क्षेत्रमा आफूलाई अब्बल दर्जामा उभ्याएका जाटियाको मृत्युवरण हुनु केही समयअघिसम्म सक्रिय रुपमा व्यवसाय प्रवद्र्धनमा थिए । उनी एसियन कंक्रिटोसहित जगदम्बा सेन्थेटिक, अन्नपूर्ण टेक्सटाइलमा पनि आबद्ध थिए ।
शंकर ग्रुप, जगदम्बा ग्रुप, जगदम्बा होल्डिङ्ससँग आबद्ध जाटिया नयाँ उद्योग, परियोजना र लगानीका विषयमा योजना बनाइरहेका थिए ।
मुलुकभित्र उद्योग निर्माण गरि रोजगार सिर्जना गर्नुपर्ने उद्योगीको पहिलो शर्त हो भन्दै ग्रुपमा उनले आफ्नो धारणाहरु राख्नेगर्थे ।