काठमाडौं । सरकारले करोडौं रुपैयाँ खर्च गरेर सुरक्षण मुद्रणालय स्थापना प्रयोजनार्थ निर्माण गरेको भवन संरचना सदुपयोग हुन सकेको छैन । सरकारले सुरक्षण मुद्रण स्थापनाका लागि छुट्टै विकास समिति निर्माणका लागि गठनादेश दिएदेखि मुद्रण विभागले करोडौं खर्च गरी निर्माण गरेको भवन संरचनाको सही प्रयोग हुन नसकेको हो ।
सरकारको आठौं योजनाअन्तर्गत स्थापना गर्ने लक्ष्य लिएको सुरक्षण मुद्रणालयका लागि मुद्रण विभागलाई सिंहदरबार परिसरमा २६ रोपनी जग्गा छुट्याएको थियो । सोही जग्गामा विभागले ८ करोड रुपैयाँभन्दा धेरै रकम खर्चेर सुरक्षण मुद्रणालयका लागि २०६१ सालमा सो भवन निर्माण गरेको थियो ।
सुरक्षण मुद्रण स्थापनाको प्रयोजनले नै निर्माण गरिएको सो भवनलाई सुरक्षाको दृष्टिले बलियो, अग्लो, मुद्रण मेसिनको आवाज र क्षमता थेग्न सक्ने गरी आरसीसीयुक्त प्रविधिले संरचना गरिएको थियो ।
तर, सुरक्षण मुद्रणको काम गर्न सरकारले छुट्टै विकास समिति गठनादेश दिएर सुरक्षण मुद्रण केन्द्रको स्थापना गरेपछि उक्त भवन हाल राष्ट्रिय योजना आयोगले प्रयोग गरिरहेको छ । भूकम्पको कारण सिंहदरबार भत्किएपछि योजना आयोग, सुरक्षण मुद्रणको भवनमा सरेको हो ।
त्यसयता विभागको सो भवनको अधिकांश भाग योजना आयोगले प्रयोग गरिरहेको छ । सुरक्षण मुद्रणका लागि निर्माण गरिएको हलको ठूलो भागमा आयोगको पुस्तकालय छ भने केही भागमा विभागको आफ्नै मुद्रण मेसिनहरू सञ्चालित अवस्थामा छन् ।
यस्तै माथिको प्रशासनिक खण्डमा समेत विभागलाई दुई कोठा उपलब्ध गराएर बाँकी भाग आयोगले लिएको छ । हाल विभागका महानिर्देशक, प्रवक्तासहित अन्य केही कर्मचारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको भुइँतल्ला भवनमा बसिरहेका छन् ।
विभागले हाल बजेट, सरकारी गजेट, राजपत्र, संवैधानिक आयोगहरूको गोप्य कागजात, स्टिकर आदिहरू छाप्ने तथा प्रकाशनको काम गर्दै आइरहेको छ ।
भिडियाे कुराकानी
तर, बजेट जस्ता अति गोप्य दस्तावेजहरू माथि काम गर्ने विभागले यसरी एउटै भवनमा अर्को निकायसँग बसेर काम गर्दा स्पेस र गोपनियता दुवैको आधारमा काम गर्न अप्ठ्यारो रहेको विभागका कर्मचारीहरू बताउँछन् ।
सुरक्षण मुद्रणका लागि विभागले ल्याएका केही मेसिनहरू हाल निस्क्रिय अवस्थामा छन् । ती मेसिनलाई अध्यावधि गरेर केही नयाँ मसिनहरू ल्याउन सके केन्द्रले गर्ने सम्पूर्ण काम विभागको हालको भवनबाटै हुन सक्ने विभागका कर्मचारी बताउँछन् ।
‘हामीसँग सुरक्षण मुद्रणकै प्रयोजनका लागि स्थापना गरेको बलियो र सुरक्षित भवन संरचना र ठाउँ छ जुन अहिले राष्ट्रिय योजना आयोगले आफ्नो कार्यालयका रूपमा प्रयोग गरिरहेको छ,’ विभागकी मुद्रण अधिकृत तथा सहायक प्रवक्ता विमला कोइराला भन्छिन्, सिंहदरबारको मुख्य भवनमा बस्दै आएको योजना आयोग भूकम्पपछि मुद्रण विभागको भवनमा सरेको थियो । पुरानो भवनलाई आधुनिक ढंगबाट मर्मत गरेपछि आयोगलाई ठाउँ नपुगेको कारण विभागमै बस्नु परेको आयोगका सूचना अधिकारी शिवरञ्जन पौडेल बताउँछन् ।
‘विकल्पमा प्रधानमन्त्री कार्यालय नयाँ बनेपछि हामी त्यता सर्ने कुरा थियो तर गृह मन्त्रालयले त्यो भवन लिए पनि त्यो पनि हुन सकेन,’ पौडेल भन्छन्, ‘अब नयाँ संसद भवन बनिसकेपछि संसद सचिवालयको दुईटा भवन हामीलाई दिने भनेको छ, हामी सायद एउटामै अटाउँछौं होला ।’
हालसम्म नयाँ संसद भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । उक्त भवन निर्माण सम्पन्न भएपछि आयोग संसद सचिवालयमा सर्ने उनी बताउँछन् ।
तर, सरकारले पाँच वर्षअघि गठनादेश दिएर स्थापना भएको सुरक्षण मुद्रण केन्द्रले भने हालसम्म देखिने गरी केही काम गर्न सकेको छैन । गत असारमा केन्द्रले दुईवटा मुद्रण मेसिन नेपाल भित्राएको थियो तर हालसम्म त्यसको जडान प्रक्रियासमेत सम्पन्न गरेको छैन ।
कोभिडका कारणले उक्त मेसिनको जडानको काममा ढिलाइ भएको सुरक्षा मुद्रण केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरे बताउँछन् ।
अति सुरक्षित कागजी नोट, बैंक चेक, स्टिकर आदिको छपाइ तथा प्रकाशनको अधिकार पाएको केन्द्रले हालसम्म मात्र दुईवटा मेसिन भित्र्याएको हो ।
यसअघि केन्द्रको मुद्रण मसिनको खरिद प्रक्रियामा भ्रष्टचार आरोपमा तत्कालिन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले समेत राजीनामा दिनु परेको थियो । यसबाहेक विभिन्न समय फजुल खर्च र ढिलासुस्ती, कमिसनको आरोप पनि केन्द्रमाथि लाग्दै आइरहेको छ ।
भित्रिएका दुई मेसिनले चेक, स्टिकर जस्ता सामग्रीहरूको छपाइ तथा प्रकाशन गर्न सके पनि कागजी नोट छाप्ने परियोजना भने पछिल्लो दुइटा बजेटमा नपरेको केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरेले बताए ।
सिंहदरबारजस्तो अति सुरक्षित ठाउँ र पर्याप्त जग्गा छोडेर तत्कालीनमन्त्री गोकुल बास्कोटाले आफ्नो गृह जिल्ला काभ्रेमा रहेको आईटी पार्कमा सुरक्षण मुद्रण स्थापनाको निर्णय लिए । तर, सुरक्षण मुद्रण जस्तो अति संवेदनशील परियोजनाका लागि पुरानै पूर्वाधार र संरचना छोडेर नयाँ ठाउँमा खर्च खन्याउने सरकारले एकदमै गलत नीति लिएको जानकारहरू बताउँछन् ।
‘केन्द्रले गर्ने भनेको सुरक्षित मुद्रणको काम गर्न हामीसँग ठाउँ थियो, केही नयाँ मेसिनलाई थप गरी केहीलाई अद्यावधिक गरेर कर्मचारीलाई त्यै अनुरूप प्रशिक्षण दिइएको थियो भने हामीले यो काम पाँच वर्ष अगाडि नै थाल्ने थियौं ।’ विभागको मुद्रण शाखाका इन्चार्ज गोवर्धन सिलवाल बताउँछन् ।
विभागको अधिकार खुम्चिदै
जंगबहादुर राणाले बेलायतबाट गिद्धे प्रेस ल्याएर नेपालमा स्थापना गरेको इतिहाससँग जोडिएको मुद्रण विभाग धराशायी हुने स्थितिमा पुगिसकेको विभागका कर्मचारीहरू बताउँछन् ।
सुरक्षण मुद्रण केन्द्रको स्थापनासँगै मुद्रण विभागको क्षेत्राधिकारहरू पनि खुम्चिन थालेको छ । सरकारले बेवास्ता गरेर वार्षिक कार्यसञ्चालनका लागि यति ठूलो विभागलाई एक करोड रुपैयाँसम्मको मात्र बजेट छुट्याउने गरेको विभागका प्रवक्ता पद्मराज पाठक बताउँछन् ।
हाल विभागले गर्न सक्ने कतिपय कामहरू केन्द्रले गर्ने भनी मन्त्रालयले समेत बेवास्ता गर्ने गरेको उनीहरू बताउँछन् । ‘हामीले पहिले अध्यागमनको भिसा स्टिकर छाप्ने काम पनि गथ्र्यौं, अहिले उनीहरूले वाटरमार्क र होलोग्राम सहितको स्टिकर जारी गरेको छ । हामीसँग होलोग्राम मेसिन छैन । अध्यागमनले अहिले टेण्डर आह्वान गरेको छ । हामीसँग होलोग्राम मेसिन मात्र भए सबै काम यहीँ गर्न सक्थ्यौं । त्यसको मूल्य धेरै पनि पर्दैन, मात्रा एक दुई करोड हो ।’ विभागका मुद्रण इन्चार्ज गोवर्धन सिलवालले भने ।
सिलवाल भन्छन्, ‘कोभिडको समयमा आन्तरिक राजस्व कार्यालयलाई मदिरामा लगाउने स्टिकरको अभाव भएको थियो, विदेश जान सकेको थिएन । हामीकहाँ पठाएको थियो, हामीले डिजाइन मात्र गर्यौं । होलोग्राम मसिन मात्र भएको भए मुद्रणका लागि बाहिर जाने अर्बौं रुपैयाँ देशमै रहने थियो ।’
हाल विभागका कतिपाय मेसिनहरू प्रयोगविहीन अवस्थामा छन् । कतिपयलाई मर्मत सम्हारको खाँचो छ भने कतिलाई अध्यावधिक गनुपर्ने अवस्था छ । ती मसिनहरू पूर्णरुपमा सञ्चालन भएको अवस्थामा मुद्रणका धेरै कामहरू देशभित्रै गर्न सकिने विभाग बताउँछ ।
‘हामी अहिलेको मेसिन नै अद्यावधि गर्ने हो र केही नयाँ मेसिन थप गरी कर्मचारीलाई समयअनुकूलको तालिम दिने हो भने न त अहिले काम गरिरहेको मुद्रण केन्द्रको मुख ताक्नुपर्छ न त विदेशमा नै त्यति धेरै पैसा पठाउनुपर्छ ।’
हाल विभागमा अर्बाैं रुपैयाँ पर्ने धेरै मसिनहरू छन् । तर, तीनको पूर्ण प्रयोग गर्न विभागसँग पर्याप्त कर्मचारी र समयअनुसारको प्रशिक्षण छैन । कति धेरै मसिन र प्रविधिहरू पुराना भएर बन्द अवस्थामा छन् । यिनलाई अध्यावधिक गर्ने तथा मर्मत गर्ने विभागमा एकजना मात्र कर्मचारी रहेको मुद्रण अधिकृत बिमला कोइरालाले बताइन् ।