काठमाडौं । हरेक सफलताको पछाडि कोही न कोहीको साथ रहन्छ । नयाँ व्यवसाय गर्दा आइपर्ने अप्ठ्यारोलाई आफ्ना बुवाले काँध थापिँदिएर भरथेग गरेका कैयौं उदाहरण छन् । त्यही भएर पनि युवाहरू व्यवसायमा सफल हुँदै गएका छन् ।
‘बुवा उत्प्रेरणाको स्रोत हो । कैयौं पटक आफूले गरेको व्यवसाय सोचेअनुरुप अघि नबढ्दा र आफू निराश बन्दा उहाँको हौसलाबाट धेरै ऊर्जा मिलेको छ,’ शिवरतन शारडाका छोरा गौरव भन्छन्, ‘आफ्नो सन्ततिले उचाइ चुम्नुको पछाडि हरेक बुवाको महत्वपूर्ण योगदान हुन्छ ।’ करोडौं रुपैयाँ लगानी गरेर व्यवसाय सुरु गरिएको हुन्छ ।
तर, सोचेअनुरुप सफलता मिल्दैन । त्यसले आफूलाई निरुत्साहित बनाउँदै लगिरहेको बेला बुवाको हौसलाले कैयौं पटक नयाँ ऊर्जा प्राप्त भएको गौरवको अनुभव छ ।
‘विदेशमा सिकेको सीप र प्रविधि लगाएर नेपालमा व्यवसाय गर्छु भन्ने युवाहरूको सोच हुन्छ,’ पञ्चकन्या ग्रुपका प्रवन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठका छोरा उदीप भन्छन्, ‘तर, सोचाइअनुसार व्यवसाय अघि नबढेपछि आफू बिचलित भइरहेका बेला बुवाले साथ दिनुभएको छ । त्यो बेला उहाँको साथ नपाएको भए आज सायद यो अवस्थामा हुँदैन थिए होला ।’
‘बुवाले सफलता र असफलता दुवैसँग कसरी रमाउने भन्ने सिकाउनुभएको छ । हामी जहिले पनि सफलतामा मात्रै रमाउँछाैं । तर, असफलतामा रमाउन मलाई मेरो बुवाले सिकाउनु भएको छ,’ उदीप भन्छन्, ‘हाम्रो धेरै व्यवसाय ग्रुपअन्तर्गत छ । ग्रुपभित्र पर्ने धेरै व्यवसाय मैले गरिरहेको छु । त्यसरी व्यवसाय गर्दा कैयौं पटक लगानी नै डुबेको अवस्था पनि छ । त्यस्तो अवस्थामा हरेस नखान र व्यवसाय गर्दा यस्तो हुन्छ भनेर निरन्तर साथ बुवाबाट पाइन्छ ।’
आफ्नो सन्ततिको प्रगतिमा हरेक बुवा रमाउँछन् । गलत बाटो समातेको भए, त्यसलाई सही बाटो ल्याउन पनि बुवाको ठूलो भूमिका रहने युवा उद्यमीहरू बताउँछन् ।
आफ्नो बुवासँग ५०/६० वर्षको व्यावसायिक अनुभव छ । उहाँले व्यवसायमा ‘एम्पाएर’ खडा गर्दा पाएको हरेक दुःख हामीले पाउनुपर्दैन । किनभने उहाँको अनुभव हाम्रा लागि उपयोगी बन्छ । व्यवसाय विस्तारमा सधैं मार्गनिर्देश बनिरहने एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालका छोरा गौरव बताउँछन् ।
‘मेरो बुबा प्रेरणाको स्रोत हो । आफ्नो कामबाट विचलित नहुन उहाँले विभिन्न उपायहरू पनि लगाइरह्नु हुन्छ । कहिलेकहीँ व्यवसायमा घाटा भयो वा अन्य कुनै असामान्य अवस्थाका कारण व्यापारमा मन्दी छायो भने पनि नआत्तिनु भनिरहनु हुन्छ,’ गौरव भन्छन्, ‘उहाँको शब्द नै हाम्रा लागि ऊर्जाको स्रोत हो ।’
उद्योगी प्रवलजंग पाण्डे आफ्नो बुबा आफ्नो रोल मोडल भएको बताउँछन् । असल मार्गमा हिँड्न र व्यवसायमा आइपरेका समस्यालाई कसरी हल गर्ने भनेर बुवाबाटै सिकेको पाण्डे बताउँछन् ।
‘सत्मार्गमा लाग्न र लगनशीलबाट मात्रै सफलता मिल्छ भन्ने ज्ञान मैले मेरो बुवाबाट सिकेको छु,’ पाण्डे सम्झिन्छन्, ‘म भित्र व्यवसायको हुटहुटी जन्माउन मेरो बुवाको योगदान महत्वपूर्ण छ ।’
कसरी सेलिब्रेसन गर्दैछन्, बुवाको मुख हेर्ने दिन ?
आज सबै युवा उद्यमीहरूले बुवालाई विशेष कार्यक्रम गरेर सेलिब्रेसन गर्ने योजना बनाइरहेका छन् । बुवासँगै बसेर मिठोमिठो परिकार खाने, विशेष ठाउँ घुम्न जाने कतिपय व्यवसायीको योजना छ ।
अधिकांश समय व्यवसायमा दिनुपर्दा बुवासँग खासै भेटघाट नै हुँदैन । भइहाल्यो भने पनि व्यवसायकै सिलसिलामा मात्रै हुने गर्छ । त्यही भएर आज व्यवसायलाई केही परै राखेर सपरिवार जम्मा भएर बुवाको मुख हेर्ने दिनलाई उल्लासमय तरिकाले मनाउने धेरै युवा व्यवसायीको सोच छ ।