काठमाडौं । विगत केही समयदेखि व्यापारीले गाडी किन्नेलाई समयमै डेलिभरि गर्न सकेका छैनन् । बुकिङ गरेको उपभोक्ताले तीन महिनासम्म गाडी पाएका छैनन् । विश्व बजारमा गाडीको कम उत्पादनको मार त छँदै छ, त्यसपछि गाडी ल्याउनका लागि भेलस पाइँदैन । तर, यहाँ गाडीको माग भने अत्यधिक छ । आधिकारिक वितरकहरूले भनेको समयमा गाडी दिन सकेका छैनन् ।
दसैं लागेसँगै नयाँ गाडी किन्नेको भीड छ । गाडीको व्यापारले अहिले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै अवस्था छ, इलेक्ट्रोनिक्स आइटमको पनि । मोबाइल, रेफ्रिजेरेटर, टिभीलगायतको व्यापारले पनि दिनानुदिन रेकर्ड बनाइरहेको छ ।
खासगरी चाडबाडका बेला नयाँ घडी, मोबाइल, टिभीलगायतका सामान किन्ने प्रचलन नै छ । गाडी पनि यही बेला नयाँ लिइन्छ । मध्यमखाले आम्दानी हुनेहरूले पनि यो बेला नयाँ मोटरसाइकल लिइरहेको छ । अहिले दुईपाङग्रे सवारी साधनको व्यापारमा पनि उत्साह छ ।
मोटरसाइकल, गाडी, मोबाइल, टिभी पछि सबैभन्दा बढी व्यापार धागोको भइरहेको छ । ‘अहिले नसोचेको धागोको व्यापार बढिरहेका छ,’ रिलाइन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालले भने, ‘धागोको व्यापारमा उल्लेखीय सुधार आउनु भनेको कोभिडबाट थलिएको अर्थतन्त्र विस्तारै पुरानो लयमा फर्किन थाल्न लागेको बुझ्न सकिन्छ ।’
दसैैं तथा तिहारमा खास खास प्रडक्टको मात्रै व्यापार बढ्छ । तर, यो बेलो धागोको व्यापार बढ्दैन् । तर, अहिले अर्थतन्त्रमा केही फरक दृश्य देखिएको छ । त्यसबाट के कुरा अर्थ्याउन सकिन्छ भने, अर्थतन्त्र छिट्टै रिभाइभ हुनेतर्फ केन्द्रित गएको उनको भनाइ छ ।
अहिले होटलमा पनि पाहुनाको फ्लो बढिरहेको छ । दैनिक रुपमा ६० देखि ७० वटा रुम बुकिङ हुन थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढिरहेको छ । त्यसले पनि अर्थतन्त्र गतिशील हुने दिशातिर लागेको देखिन्छ ।
कोभिड पहिलासम्म दसैंमा मात्रै झण्डै ८ खर्बभन्दा बढी कारोबार हुन्थ्यो । तर, कोभिडले धेरैको रोजगारी गुमेको छ । आम्दानी घटेको छ । उत्पादन घटेको छ । यस्तो अवस्थामा पनि यो वर्ष झण्डै २ खर्ब बराबरको कारोबार हुने अर्थशास्त्रीहरू बताउँछन् ।
अहिले हरेक क्षेत्रको व्यापारमा केही न केही सुधार भएको छ । शून्य अवस्थामा कुनै पनि व्यापार छैन । तर, दसैं तथा तिहारमा सीमित क्षेत्रको मात्रै व्यापारमा बढोत्तरी हुने गरेकोमा अहिले अवस्था केही भिन्न भएको सम्बद्ध क्षेत्रका अनुभवीहरूको भनाइ छ ।