काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्यांकानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा २ हजार ९ जनाको मनोनयन दर्ता भएको छ ।
यस्तै पालिका अध्यक्षमा ३ हजार २६४ र उपाध्यक्षमा २ हजार २९६ जनाको मनोनयन दर्ता भएको छ ।
वडाध्यक्षमा ३२ हजार २१७, महिला सदस्यमा २३ हजार ५२१, दलित महिला सदस्यमा २१ हजार २२१ र वडा सदस्यमा ४९ हजार २३९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहपूर्ण रूपमा मनोनयन दर्ता भएकाे थियाे ।
आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । वैशाख १४ र १५ गते मनोयनपत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।