काठमाडौं । पावर चाइना कर्पोरेशनले प्रस्तावित ७६२ मेगावाटको तमोर जलाशययुक्त आयोजना बनाउन दुई ओटा लगानी मोडेल (खाका) प्रस्तुत गरेको छ ।
पहिलो मोडेल ५४ प्रतिशत पावर चाइना र बाँकी नेपाली साझेदार हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) तथा सर्वसाधारणको गरी ४६ प्रतिशत प्रस्ताव गरिएको छ । दोसौ मोडेलमा एचआईडीसीएलको ५१ तथा सर्वसाधारणको गरी ७१ र पावर चाइनाको २९ प्रतिशत लगानी रहने प्रस्ताव गरिएको छ ।
पहिलो मोडेल अनुसार ४६ मध्ये एचआईडीसीएलको २६, १० आयोजना प्रभावित स्थानियबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई लगानी गर्न दिने छ ।
दोस्रो खाकामा एचआईडीसीएल ५१, पावर चाइना २९ र सर्वसाधरणको २० प्रतिशत लगानी संरचना तयार पारिएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले लगानीको दुई मोडेल प्रस्ताव गरिए पनि पछि परिवर्तन हुन सक्ने जानकारी दिए ।
आयोजनाका लागि आवश्यक सबै ऋणको व्यवस्थापन पावर चाइनाले गर्ने छ । यस्तै एचआईडीसीएलको तर्फबाट गर्नु पर्ने स्वपँजी (इक्विटी) नभए पावर चाइनाले व्यवस्था गरिदिने समझदारी भएको उनले सुनाए । आयोजनाको अनुमानित लागत १ खर्ब ८० अर्ब रुपैयाँ देखिएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्र वास्तविक लागत तय हुने छ । एचआईडीसीएल र पावर चाइनाले तमोर जलासयलाई संयुक्त रुपमा विकास लगानी बोर्डमा प्रस्ताव पेस गरिसकेका छन । उनीहरुको प्रस्तावको मूल्याँकन भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए ।
गत साउन १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले एचआईडीसीएल तथा पावर चाइना संयुक्त र कतारको नेब्रस पावर होल्डिङ्स र जापानको फुजी इलेक्ट्रिक कम्पनी लिमिटेड संयुक्तलाई छनोट गरी उनीहरूबाट प्रस्ताव मागेको थियो ।
अन्तिम दिन एचआईडीसीएल र पावर चाइनाले संयुक्त रुपमा मात्र तमोर जलाशययुक्त आयोजना बनाउन लगानीको प्रस्ताव गरेका थिए । आयोजना सार्वजनिक र निजी साझेदारी (पीपीपी) मोडेलमा निर्माण हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा गठन भएको समितिले मूल्याँकन गरेपछि स्वीकृतिका लागि लगानी बोर्डमा पेस हुने उनले. जानकारी दिए ।
लगानी सम्मेलनमा बोर्डले तमोर आयोजनालाई सो केसमा राखेको थियो । त्यस बेला, चीन, भारत, जापान र कतारका गरी ५ ओटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । बोर्डले परेका ५ ओटा कम्पनीको प्रस्तावको मूल्याँकन गर्दा नेब्रस र फुजी, एचआईडीसीएल र पावर चाइना गरी दुई संयुक्त उपक्रमलाई मात्र छनोट गरेको थियो ।
सोहीअनुसार एचआईडीसीएल र पावर चाइनाले लगानीको प्रस्ताव गरेका हुन । लगानी सम्मेलनपछि अघि बढ्न लागेको तमोर सबैभन्दा ठुला परियोजना हो ।
बोर्डले आयोजनाको बुझाइ, निःशुल्क ऊर्जा, बढीभन्दा बढी स्थानीय साझेदारको सहभागिता र सेयर लगानी र कार्यतालिका गरी ४ ओटा विधि (क्राइटेरिया) बनाएर प्रस्ताव मागेको हो । तमोर आयोजना पूर्वी नेपालको पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लामा पर्छ ।