काठमाडौं। एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्यरूपमा सम्पन्न भएको छ। कन्सर्टमा दर्शकले चर्चित कलाकार तथा सांगीतिक समूहको प्रस्तुतिमा गाउँदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए।
सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आशिष राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकलाई मन्त्रमुग्ध पारेका थिए। कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपि दिएको थियो।
![11685351025.jpg](https://www.capitalnepal.com/uploads/posts/11685351025.jpg)
सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौं विराटनगरका दर्शकको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो। दिउँसो केही गर्मी भए पनि दर्शक अस्मिता अधिकारी र सुनिल पण्डितका गीतमा गाउदै नाचेका थिए।
द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकमा झनै उर्जा थपिदिएको थियो। द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतका साथ दर्शकलाई संगीतमा डुबाउँदै झुमायो। धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगर बासीलाई नचाए। त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामीजस्ता र्याप गीतले सांगितीक कार्यक्रम झनै तातिएको थियो। दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतको प्रस्तुति थियो।
![21685351041.jpg](https://www.capitalnepal.com/uploads/posts/21685351041.jpg)
यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो। अर्थतन्त्र, पर्यटन व्यवसायलाई पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नेलगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको कम्पनीले बताएको छ।
![31685351057.jpg](https://www.capitalnepal.com/uploads/posts/31685351057.jpg)
एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो। सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ। एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो। एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ।
![41685351075.jpg](https://www.capitalnepal.com/uploads/posts/41685351075.jpg)