काठमाडौं। दुई दशकअघि अमेरिका पुगेका बुद्धिसागर सुवेदी त्यहाँका स्थापित ‘बिजनेसम्यान’ हुन्। डिभी परेर अमेरिका गएका बुद्धि बीचमा धेरैपटक मातृभूमि आउजाउ गरिरहन्थे। नेपाल आउँदा होस् वा विदेशमा रहँदा, आफ्नो देशबारे चासो र चिन्ता लिइरहन्थे।
विशेष परिस्थितिले नेपाली नागरिकता त्यागे पनि नेपालप्रतिको मोह भने उनको हृदयबाट हटेको थिएन। त्यही कारण विदेशमा कमाएको केही हिस्सा मातृभूमिमा लगानी गर्नुपर्छ भन्ने हुटहुटीले उनको मुटु बेलाबेला धड्किरहन्थ्यो।
चितवनका बुद्धिको पुख्र्यौली घर स्याङ्जा हो। आठ वर्षको हुँदा चितवन माडी झरेका उनले उच्च शिक्षापछि त्रिभुवन विश्वविद्यालयमा ‘लेक्चरर’ का रूपमा जागिरे भए। त्यही बेला उनले मीनभवन क्याम्पसमा समेत अध्यापन गर्थे।
सन् २००३ मा डिभी परेर अमेरिका गए। त्यो बेला एकसाथ मीनभवन क्याम्पसका सातजना लेक्चररलाई डिभी परेको थियो। अमेरिका गएपछि एक÷डेढ वर्षसम्म अरूकैमा रोजगारी गरेका बुद्धिले २००५ बाट आफ्नै व्यवसाय सुरु गरे। उनको सुरुको व्यवसाय ग्यास स्टेसन थियो।
![buddhi_sagar_subedi1693185786.jpg](https://www.capitalnepal.com/uploads/posts/buddhi_sagar_subedi1693185786.jpg)
सुरुमा अमेरिकाको विस्कन्सिनको एप्पलटन सिटीमा नेपाली भनेकै बुद्धिमात्र थिए। तर, अहिले त नेपालीको व्यापार नै ६० देखि ७० वटासम्म भइसकेका छन् भने ३ सयजति नेपाली बसोबार गरिरहेका छन्। व्यापार विस्तार क्रममा उनले रियलइस्टेट, हाउजिङ र होटल व्यवसायमा लगानी बढाए।
अहिले अमेरिकाकै सिकागोमा ह्यात प्यालेस, वासिङटन डिसीमा होलिडे इन, लुुजियानालगायत मुख्य सहरमा पनि होटल सञ्चालन गरिरहेका छन्।
नछाडिएको नेपाल मोह
अमेरिकामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चेन होटलहरू सञ्चालन गर्दै आएका बुद्धिलाई नेपालमा लगानी गर्ने हुटहुटी जाग्यो। उनको हुटहुटी केवल नाफा कमाउनेमात्र नभई जन्मथलोमा केही लगानी गरेर रोजगारी सिर्जना गर्ने पनि थियो।
नेपालमा जन्मिहुर्किएपछि मातृभूमिका लागि केही न केही योगदान दिनुपर्छ भन्ने सोच अमेरिकामा लगानी विस्तार गरिरहँदा उनको मनमा आइरहन्थ्यो। ‘विदेशको कमाइमा मात्र रमाउने हो भने देशप्रतिको दायित्व पूरा हुँदैन भन्ने लागेरै नेपालमा केही न केही लगानी विस्तार गरी रोजगारी बढाउनुपर्ने ध्येयले जन्मभूमिमा सम्भावनाको खोजी गरेको हुँ,’ बुद्धि भन्छन्।
अमेरिकाको सिकागोमा ह्यात प्लेस सञ्चालन गरिररहेका उनलाई साढे एक वर्षअघि ह्यातको मुख्य कार्यालयले नेपालमा पनि फ्रेन्चाइजी खोल्न अनुरोध ग¥यो। त्यो बेला क्षेत्रीय कार्यालयले नभई सिधै मुख्य कार्यालय अमेरिकाबाटै फ्रेन्चाइजी दिने प्रस्तावपछि उनी नेपाल आए। अमेरिकामा रहेको फ्रेन्चाइजीले राम्रो व्यापार गरेका कारण मुख्य कार्यालयले नै नेपालमा होटल खोल्न प्रस्ताव गरेको थियो।
![buddhi_sagar_subedi_11693185786.jpg](https://www.capitalnepal.com/uploads/posts/buddhi_sagar_subedi_11693185786.jpg)
स्याङ्जामा जन्मिए पनि बाल्यकाल भने चितवन माडीमै बिताएका कारण त्यहीँ ह्यात प्लेस खोल्ने योजनासाथ पुगे। जग्गा हेरे, तर उनले भनेजस्तो नमिलेपछि अमेरिका नै फर्किए। तर, नेपालमा लगानी गर्ने उनको सोच हटिसकेको थिएन। साथीभाइ भेटघाट हुँदा उनले थाहा पाए– भैरहवामा रहेको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट बिक्रीमा छ।
विभिन्न मुद्दा मामिलाका कारण नेपालमा बिक्री हुन नसक्ने र विदेशीले लगानी गर्न नसक्ने स्थिति रहेकाले नेपाली मूलकै गैरआवासीयले चाहे किन्न सक्नेसमेत उनले थाहा पाएपछि त्यसतर्फ चासो बढाए। र, उनले टाइगर प्यालेसका सञ्चालकहरूसँग भेट गरी रिसोर्ट किन्ने निधोमा पुगे।
१ हजार १ सयले प्रत्यक्ष रोजगारी पाइरहेको रिसोर्ट बन्द भएर चौरमा परिणत हुने स्थिति छ भन्ने सुनेपछि सबै प्रक्रिया पूरा गरेर लिने मनस्थितिसाथ छलफल अगाडि बढाएर फाइनल गरे।
टाइगर प्यालेस रिसोर्टका लगानीकर्ताहरूको कार्यालय सिकागो, अस्टे«लिया र हङकङमा पनि रहेकाले तीन ठाउँमध्ये हङकङबाटै गर्ने प्रस्ताव आएपछि त्यहीँबाट गरिएको हो। हङकङमा १५ मिलियन डलर दिएर बाँकी नेपालको सकार्ने सहमतिसाथ काम अगाडि बढाएको उनको भनाइ छ।
बुद्धिका अनुसार आठ महिनादेखि नेपालका बैंकको ब्याज र किस्तासमेत नतिरेको अवस्थामा आफूहरूले नै तिर्ने, सरकारलाई तिर्नुपर्ने सम्पूर्ण कर र सरकारलाई तिर्नुपर्ने क्यापिटल गेनसहित धारा ५७ अनुसार सबै कर तिर्न आफूहरू तयार छौं।
‘कर छलेर पैसा नै कमाउनु थियो भने नेपालबाहेक अन्य देशमै लगानी गथ्र्यौं, जहाँ लगानी गरेको भोलिपल्टबाटै पैसा आउँछ। हामीले यही पैसा दुबईमा लगानी गरेको भए त्यहाँ रेड कार्पेट बिच्छ्याएर स्वागत हुन्थ्यो,’ बुद्धि भन्छन्, ‘हामी आफ्नो मातृभूमिप्रतिको दायित्व सम्झिँदै विदेशमा कमाएको केही रकम नेपाल ल्याएर लगानी गरौं भन्ने सोचसाथ आएका हौं।’
टाइगर प्यालेस रिसोर्टमा क्यासिनोबाहेक अन्य सेवा सञ्चालनमा आइसकेका छन्। लाइसेन्स रद्द भइनसकेकाले पुरानो रोयल्टी तिरेपछि क्यासिनो पनि केही महिनाभित्रै सञ्चालनमा आउने छ।
![buddhi_sagar1693185784.jpg](https://www.capitalnepal.com/uploads/posts/buddhi_sagar1693185784.jpg)
के हो अदालतमा रहेको विवाद?
बुद्धिका अनुसार अदालतमा रहेको विवाद पनि नजिकबाट हेरिएको छ। रिसोर्ट सञ्चालनमा रहेको नजिकै राजकुलो र भैजुभुजा भन्ने सिँचाइ रहेछ। नक्सामा कुलो भए पनि पानीको निकास गर्नुपर्ने भने कहीँ नभएको नापीका बेला सरकारले राजकुलोका रूपमा नापेरमात्र त्यो भएको रहेछ। र, रिसोर्टको भवन निर्माण गर्ने बेला भैजुभुजा भन्ने सिँचाइ आयोजनाबराबर जति जग्गा छ (१६ कठ्ठा) बाहिर छाडेर कम्पाउन्ड लगाएको भेटिएको छ। रिसोर्टले सरकारी जग्गा मिचेर रिसोर्ट बनायो भन्ने आरोप गलत हो।
‘स्थानीयहरूसँग सहमति गरेर जग्गा बाहिर छाडेर काम अगाडि बढाइएको रहेछ। तर, स्थानीयहरूसँगको सहमतिमा जग्गा छाडेर काम अगाडि बढाएको त्यो डकुमेन्ट भने स्थानीय साझेदारले मात्र राखेको र अदालतमा मुद्दा पर्दा त्यो डकुमेन्ट नबुझाएपछि अदालतले अन्तरिम आदेश दिएको रहेछ,’ उनी भन्छन्, ‘अहिले हालसाबिक गर्दा पहिला छाडेको १६ कठ्ठा जग्गालाई तारजाली गरेर राखिएको छ। अदालतमा स्थानीयसँगको त्यो बेलाको सहमतिमा जग्गा छाडेको कागज र प्रमाण पेस गरेपछि खुला गरिनेमा आशावादी छौं।’
![buddhi1693185784.jpg](https://www.capitalnepal.com/uploads/posts/buddhi1693185784.jpg)
तिर्नुपर्ने कुरामा ‘नो कम्प्रमाइज’
‘अहिले हाम्रो वकिललाई प्रष्ट भनेका छौं, सरकारलाई तिर्नुपर्ने दायित्व एक रुपैयाँ पनि कम नगरी निकाल्नुस्, तिर्न तयार छौं,’ बुद्धि भन्छन्, ‘हामी यहाँ पैसा बनाएर फर्किन आएको होइन, पैसा कमाउनै थियो भने हामी विदेशमै लगानी गथ्र्यांै, जहाँ लगानी गरेको भोलिपल्टबाट पैसा आउन सुरु हुन्छ। हामी सरकार, देश र यो माटोलाई केही गर्नुपर्छ भन्ने दायित्वसाथ आएको हुनाले तिर्नुपर्ने कुरामा ‘नो कम्प्रमाइज।’
नेपालमा लगानी गर्ने भन्ने तयारी गर्दा पनि धेरै साथीले ‘बिजनेस फ्रेन्डली’ छैन देशप्रतिको भावनामा नडुब्नुस् भनेर धेरैपटक भनेको बुद्धि सम्झिन्छन्।
‘अहिले मुलुकलाई डलरको ठूलो आवश्यकता छ र संकटका बेला भरोसा दिने पिलरका रूपमा हामी गैरआवासीय नेपालीहरु नै हुनुपर्छ, हुन तयार पनि छौं,’ उनी भन्छन्, ‘एनआरएनहरूले यो प्रोजेक्टलाई सरकारले कसरी हेर्छ र व्यावसायिक वातावरण कस्तो बनाउँछ र एनआरएनएले गरेको लगानीलाई कस्तो व्यवहार गर्दो रहेछ भने नजिकबाट नियालिरहेका छौं। यो सफल भयो भने एनआरएनएको लगानी धेरै आउँछ, यसलाई रोलमोडलका रूपमा लिएका छौं।’