काठमाडौं। ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालले संयुक्त रुपमा नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ को घोषणा गरेका छन्। महिला उद्यमीलाई लक्षित गरेर घोषणा गरिएको यो नै नेपालको पहिलो इक्विटी फण्ड हो।
यस उद्यमीले महिला उद्यमीहरुलाई पुँजीमा पहुँच पुर्याउने, महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने र महिला उद्यमीको व्यवासय विस्तार तथा वृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ। यस फण्डको आकार ५० करोडको रहेको छ।
यस फण्डले पुँजीमा पहुँच पुर्याउने अतिरिक्त महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गरि उनीहरुलाई आन्तरिक तथा बाह्य बजारमा समेत पहुँच पुर्याउने अपेक्षा गरिएको छ। फण्डले प्रत्यक्ष र अप्रत्यक्ष गरि १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
फण्ड घोषणा कार्यक्रममा अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मिक्सले अमेरिकी सरकार र नेपालको निजि क्षेत्रले नेपालमा उद्यमीहरुलाई प्रवद्र्धन गर्न तथा नेपालको आर्थिक विकासमा कसरी सघाईरहेको छ भन्ने हेर्नको लागि यो फण्ड उदाहारणीय रहेको बताए। उनले यस फण्डले महिला उद्यमीहरुले पुँजी जुटाउन भोग्नु परेको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेपाल प्राइभेट इक्विटी एसोसियनका अध्यक्ष सिद्दान्तराज पाण्डेले ग्लोबल इक्विटी फण्ड र युएसएड ट्रेड एन् कम्पिटिटिभनेसबीच भएको सहकार्यको प्रशंसा गर्दै यस फण्डले महिला उद्यमीहरुले संचालन गरेको उद्यमको सेवा विविधिकरण हुने, र उत्पादकत्व वृद्धि भई महिला उद्यमीहरुलाई मार्केट लिडर बन्न सघाउने विश्वास व्यक्त गरे।
यस फण्डले सुरुवाती चरणमा लगानीको लागि ३ वटा उद्यमसँग सम्झौता गरेको छ। फण्डले राइनो लेदर, ट्रानक्वीलिटी स्पा, र एन्जल फर्टीलिटी क्लिनिकसंग लगानी सम्झौता गरेको छ।
ग्लोबल इक्विटी फन्डका म्यानेजिङ पार्टनर डा. मनिष थापाका अनुसार ‘नेपाल वोमेन ग्रोथ इक्विटी फण्ड’ अरु भन्दा पृथक रहेको छ। उनका अनुसार यस फण्डले लगानीको लागि विभिन्न शर्त तोकेको छ।
जस अनुसार यस फण्डले ५० प्रतिशत भन्दा बढी महिलाको लगानी भएका कम्पनी वा व्यवस्थापनमा ३० प्रतिशत भन्दा बढी महिला भएका कम्पनी वा ५० प्रतिशतभन्दा बढी महिलालाई रोजगारी दिइरहेको कम्पनी वा महिला लक्षित सामग्री उत्पादन गर्ने तथा सेवा दिने कम्पनीमा मात्र लगानी गर्ने छ।
यो फण्ड पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनीको रुपमा कार्यसंचालन गर्नेछ। यसले भविष्यमा सर्वसाधारणलाई शेयर समेत निष्काशन गर्नेछ।ग्लोबल इक्विटी फन्डले नेपाल धितोपत्र बोर्डको विशिष्टिकृत लगानी कोष नियमावली अन्तर्गत संचालन गर्न फण्ड ‘नेपाल इम्प्याक्ट ग्रोथ इक्विटी फन्ड’ को अन्तिम तयारी गरिरहेको छ। डा. थापाका अनुसार यस फण्डको आकार २ अर्ब रहने छ। यसले स्टार्टअप तथा ग्रोथ स्टेजका कम्पनीमा लगानी गर्नेछ।
ग्लोबल इक्विटी फण्डको अन्तर्राष्ट्रय स्तरको लगानी मापदण्ड रहेको र लगानीको निर्णय गर्दा सो मापदण्ड अनुसार नै लगानी गर्ने म्यानेजिङ पार्टनर डा। थापा बताउछन्। उनका अनुसार नाफा हेरेर भन्दा पनि अर्थतन्त्रलाई योगदान दिने कम्पनीमा लगानी गर्ने गरिनेछ।
ग्लोबल इक्विटी फण्डले देश भित्र र देश बाहिरबाट पनि वैदेशिक लगानी (एफडिआई) को रुपमा फण्ड संकलन गर्नेछ। हाल ग्लोबल इक्विटी फण्डले कुल ३.५० अर्बको फण्ड संचालन गर्ने योजना राखेको छ।