काठमाडौं। आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२३’ को अन्तिम कार्यक्रम आइ ह्याभ एन आइडिया २०२४ सप्पन्न गरेको छ। आइडिया स्टुडियोले फेब्रुअरी ३ मा सम्पन्न कार्यक्रममा १८० उपस्थित थिए।
उक्त अवसरमा विभिन्न क्षेत्रका विज्ञ, शैक्षिक संस्थाका प्रमुख, विद्यार्थी, जापानी कम्पनीलगायतको उपस्थिति रहेको आइडिया स्टुडियो नेपालकी रणनीति तथा सञ्चार प्रमुख सदीच्छा श्रेष्ठले बताइन्।
कार्यक्रमको निर्णायक मण्डलमा वल्र्ड वाइल्ड लाइफ फन्ड नेपालका प्रमुख अपरेटिङ अफिसर, रविप्रताप सिंह, काठमाडौं मोडल कलेजका प्रधानध्यापक सुरेन्द्र सुवेदी र बेनेसे होल्डिंग्स इंक, जापानको निर्देशक ताकुमा कोजाइवा थिए।
कार्यक्रम वल्र्ड वाइल्ड लाइफ फन्ड नेपालका देश प्रतिनिधि डा.घनश्याम गुरुङ र बेनेसे होल्डिंग्स इंक, जापानका निर्देशक ताकुमा कोजाइवा, आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा, काठमाडौं मोडल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदी, स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङको आतिथ्यमा सम्पन्न गरिएको थियो।
वल्र्ड वाइल्ड लाइफ फन्ड नेपालका देश प्रतिनिधि डा.घनश्याम गुरुङले ५ आर प्रविधिबारे जानकारी दिँदै सबै व्यवसाय दिगो र पर्यावरणमैत्री हुनुपर्ने बताए। बेनेसे होल्डिंग्स इंक जापानका निर्देशक ताकुमा कोजाइवाले आफ्नो अनुभव सुनाउँदै प्रतियोगिता जित्नेले मात्र व्यवसाय गर्न सक्छ भन्ने नहुने सुनाए।
विगतमा प्रतिस्पर्धामा भाग लिएर शीर्ष १४ मा पुगेर आफ्नो टोलीले उपाधि गुमाए पनि जित्नेले भन्दा चाँडो आफ्नो विचार कार्यान्वयन गर्न सक्षम भएको उनको भनाइ छ।
काठमाडौं मोडल कलेजका प्रधानाध्यापक सुरेन्द्र सुवेदीले आइडिया स्टुडियोसँगको निरन्तर सहकार्यको कुरा जोड्दै विद्यार्थीले कलेज आइडिया हन्टजस्ता विभिन्न कार्यक्रममा सहभागी हुने मौका पाएको जानकारी दिए।
स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयका निमित्त निर्देशक डा. गोविन्द तामाङले युवा राष्ट्रको वर्तमान भएका र आइडिया स्टुडियो नेपालसँग ४ वर्षदेखि सहकार्यमा बिभिन्न काम गरिरहेको बताए।
कलेज आइडिया हन्ट २०२३ मा २०० भन्दा बढी व्यावसायिक विचार प्राप्त भएका थियो। प्राप्त विचारमध्ये २० आइडियालाई १५ दिने इन्क्युबेसनका साथै मेन्टरसिप प्रदान गरिएको थियो। पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो।
सोही दिन कलेज आइडिया हन्ट २०२३ मा प्राप्त उत्कृष्ट १० आइडियामध्ये उत्कृष्ट ३ आइडियामा नेहा प्रविनको लाइट वेट इयरिङ, सौगात आचार्य, नवीन ढकाल, सचिन घिमिरे र रमिन घिमिरेको अश्वत्थामा, आयुषी सिंह, पूजा जोशी र गणेश आचार्यको उपन्हा छनोेट गरिएका थिए।
निर्णायक मण्डललाई स्कोरसिट प्रदान गरिएको थियो। स्कोरसिट मार्किङको आधारमा विजेता चयन गरिएको हो। कलेज आईडिया हन्टका उत्कृष्ट ३ आइडियालाई १ लाख नगद पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट ३ आइडिया स्वतः आइडिया स्टुडियो सिजन ८ मा प्रस्थान गराइनेछन्।
हालसम्म आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न कार्यक्रमबाट देशका ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको व्यापक सहभागिता जुटाउन सफल भएको छ।