काठमाडौं। नेपालको सबैभन्दा लोकप्रिय तयारी चाउचाउ ब्रान्ड वाइवाइ अब नयाँ युगमा प्रवेश गरेको छ। ललितपुरको भैंसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यसको पहिलो उत्पादन केन्द्र अब नवलपरासीस्थित सिजी इन्डस्ट्रियल पार्क (सिजीआईपी) मा स्थानान्तरण गरिएको छ।
वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण प्रक्रिया श्रमिकको सम्मानजनक व्यवस्थापनसहित, सरोकारवालासँगको आपसी समझदारी र लिखित सहमतिमै सम्पन्न गरिएको हो।
चार दशकको यात्राः भैंसेपाटीबाट नवलपरासीसम्म
सन् १९८४ मा स्थापना भएको भैंसेपाटीको फ्याक्ट्री वाइवाइको ऐतिहासिक थलो थियो। त्यो बेला भैंसेपाटी खुला क्षेत्र थियो, जहाँ औद्योगिक गतिविधि सहज रूपमा सञ्चालन गर्न सकिन्थ्यो। तर, समयक्रमसँगै यो क्षेत्र उच्च जनघनत्व भएको आवासीय क्षेत्रमा परिणत भयो, जसले उत्पादनलाई निरन्तरता दिन चुनौती खडा गर्याे।
‘वातावरणीय सन्तुलन कायम राख्ने प्रतिबद्धतासहित, स्थानीय बासिन्दा तथा सरोकारवालाको चासोलाई गम्भीर रूपमा लिँदै हामीले यो महत्वपूर्ण निर्णय गरेका हौं’, पुडासैनीले भने।
श्रमिकका लागि विशेष व्यवस्थापन
फ्याक्ट्री स्थानान्तरणका क्रममा कुनै पनि श्रमिकलाई असहज स्थिति नहोस् भन्ने उद्देश्यले कम्पनीले विशेष प्रोत्साहन प्याकेज व्यवस्था गरेको छ। इच्छुक कर्मचारीका लागि वाइवाइका अन्य उत्पादन केन्द्र तथा अफिसमा स्थानान्तरण अवसर उपलब्ध गराइएको छ।
‘सम्पूर्ण कर्मचारीको उचित व्यवस्थापन सुनिश्चित गरेपछि मात्रै स्थानान्तरण प्रक्रिया टुंगो लगाइएको हो’, पुडासैनीले स्पष्ट पारे।
अत्याधुनिक प्रविधियुक्त नयाँ फ्याक्ट्री
नवलपरासीस्थित नयाँ फ्याक्ट्री अत्याधुनिक प्रविधियुक्त उत्पादन प्रणालीमा अपग्रेड गरिएको छ। चौधरी ग्रुपले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक उत्पादन सुनिश्चित गर्न प्रविधिमा थप लगानी गरिरहेको छ।
भविष्यको तयारी
फ्याक्ट्री स्थानान्तरणले वाइवाइ ब्रान्डलाई अझ विस्तार गर्न, उत्पादन क्षमतामा वृद्धि गर्न, तथा गुणस्तरमा सुधार ल्याउन टेवा पुग्ने कम्पनीको विश्वास छ।
नेपालकै सबैभन्दा सफल एफएमसीजी ब्रान्डमध्ये एक वाइवाइले आफ्नो उत्पादनलाई अझ सुदृढ गर्दै विश्व बजारमा मजबुतीका साथ प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।