काठमाडौं। आफ्नो मागहरु पुरा नगरेपछि ग्यास व्यवसायीहरु पुनः आन्दोलनमा उत्रिएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले सरकार समक्ष राखेका मागहरु पूरा नभएको भन्दै पुनः आन्दोलनको तयारी थालेका हुन्।
संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आइतबारदेखि देशभरका ५९ वटै ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद नगर्ने निर्णय गरेको जानकारी दिए। आफूहरुले राखेका माग पूरा नभए आगामी शनिबारबाट इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट एलपी ग्यासको बुलेट लोड नगर्ने उनको भनाइ छ।
चैत १ गतेदेखि भन्सारबाट बुलेट छुटाउन रोक्ने संघले जनाएको छ। चैत ६ गतेसम्म पनि माग पूरा नभए ७ गतेदेखि ग्यासको बिक्रीवितरण बन्द गर्ने संघले जनाएको छ। यस्तै चैत ११ गतेबाट डिलरले पनि ग्यासको बिक्री रोक्ने संघको विज्ञप्तिमा उल्लेख छ।
यसअघि सरकारले आफूहरुको माग पूरा गर्न १५ दिनको समय दिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, "छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगीका जायज माग सम्बोधन हुने र सोको लागि गृहकार्य गर्न १५ दिन समय लाग्ने आश्वासन दिएपछि संघले फागुन १५ सम्मका लागि आन्दोलन स्थगित गरिएको थियो।"
संघले एलपी ग्यास उपभाक्ताले ग्यास उपभोग गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्ने विधिबारे जनचेतना जनाउन सरकारले एलपी ग्यास आयातको १ प्रतिशत छुट्याउनुपर्ने, ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धी नभएकाले तत्कालै वृद्धी हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने लगायत माग अघि सारेको छ।