काठमाडौं। नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी २०८२ वैशाख ७ मा काठमाडौंमा आयोजना गरिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आयोजक रहने सम्मेलन आयोजनाबारे नेपालल चेम्बर अफ कमर्स (एनसिसी र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)बीच सम्झैता भएको थियो।
‘इकोनोमी फर अ सस्टेनेबल एन्ड रिसाइलेन्ट फ्युचर’ नारासहित आयोजना हुने सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग/व्यावसायिक तथा अधिक संभावना बोकेका क्षेत्रमा देखिएका जल्दाबल्दा विषयमा केन्द्रित रहेर सम्बन्धित विषयक्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ/विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीबीचमा छलफल चलाइनेछ।
बहस र सत्रबाट प्राप्त दूरगामी महत्त्वका बहुपयोगी सुझाव समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारलाई हस्तान्तरण गरिनेछ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्दर्भमा आयोजना हुने सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रबीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने विश्वास व्यक्त गरे।
एनबीआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटी संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्रका छिमेकी चीन र भारतबीचको गतिशील अर्थतन्त्रको लाभ लिन सकिनेबारे बहस चलाइने जानकारी दिए।
यस्तै, आन्तरिक लगानी प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकीकरण, कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसाय, भेन्चर क्यापिटल, इन्कयुबेसनलगायत क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थान बिन्दु बन्ने उनको धारणा छ।
समिटमा सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रको नेतृत्व, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष/सञ्चालक तथा उच्च अधिकारी, लब्धप्रतिष्ठित उद्योगी एवं व्यवसायी, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीसहित करिब ५ सय बढीको सहभागिता रहनेछ।