काठमाडौं। नेपालमा विद्युतीय सवारी साधन (ईभी)को माग तीव्र रूपमा बढ्दै गएको छ। चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा सात हजार ९६७ युनिट ईभी आयात भएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८७४ युनिटले बढी हो।
आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको अवधिमा १८ अर्ब ६२ करोड रुपैयाँ बराबरको ७ हजार ९६७ युनिट ईभी नेपाल भित्रिएका हुन्। उक्त आयातबाट सरकारले ११ अर्ब ४७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्ष १७ अर्ब ४९ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको थियो। उक्त गाडी आयातबाट सरकारले ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।
यस वर्षको तुलनात्मक रुपमा वृद्धिले नेपालको सवारी साधन बजारमा विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ।
चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) १३ हजार ८३७ युनिट चार पांग्रे सवारी साधन नेपाल भित्रिएका छन्। भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा विद्युतीय, डिजेल/पेट्रोल र हाइव्रिड गरी १३ हजार ८३७ युनिट सवारीसाधन नेपाल भित्रिएको हो। आर्थिक वर्ष २०८१/८२ को ९ महिनाको अवधिमा सबैभन्दा धेरै विद्युतीय (ईभी) सवारीसाधन नेपाल भित्रिएको छ।
सबैभन्दा धेरै आयात चीनबाट
नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। ९ महिनाको अवधिमा चीनबाट मात्र ५ हजार ९०२ युनिट ईभी गाडी नेपालमा आयात भएका छन्।
चीनपछि सबैभन्दा धेरै विद्युतीय गाडी भारतबाट आयात भएको छ। भारतबाट उक्त अवधिमा २ हजार २३ युनिट विद्युतीय गाडी नेपाल आयात भएको छ।
नेपालमा भित्रिएका चार पांग्रे विद्युतीय सवारी साधनमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट गाडीहरु छन्।
९ महिनाको समयावधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ५ हजार १२४ युनिट गाडी आयात भएका हुन्। ५० किलोवाटसम्मको २ हजार ७९२ युनिट भित्रिएका छन्।
यस्तै, १०१ देखि २०० किलोवाटसम्म ७४२ युनिट आयात भएका छन् भने २०१ देखि माथि १९ युनिट आयात भएका छन्। यस अवधिमा सबैभन्दा धेरै गाडी चीनबाट आयात भएका छन्।
डिजेल पेट्रोल गाडी
चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ४ हजार ६९ युनिट डिजेल पेट्रोल गाडी आयात भएका छन्। ६ अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरको डिजेल पेट्रोल गाडी आयात भएका छन्। उक्त आयातबाट सरकारले १२ अर्ब ७१ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
कमर्सियल विद्युतीय गाडीको आयात
९ महिनाको अवधिमा ५ अर्ब ४१ करोड १५ लाख रुपैयाँ बराबरको १ हजार ७४९ युनिट कमर्सियल विद्युतीय सवारीसाधनको आयात भएको छ। उक्त आयातबाट सरकारले १ करोड १८ करोड ७५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
हाइव्रिड गाडीको आयात
आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा २२ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको ५२ युनिट हाइव्रिड गाडी नेपाल भित्रिएका छन्। उक्त आयातबाट सरकारले ५३ करोड १२ लाख ५४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।