काठमाडौं। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत सुर्खेत, बुटवल इजलासबाट थुना आदेशलगत्तै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ आज हुँदै छ।
रविपत्नी निकिता पौडेलले पतिलाई गैरकानुनी थुनामा राखिएको दाबीसहित वैशाख ७ मा सर्वोच्चमा दायर रिटमाथिको सुनुवाइका लागि आज पेसी तोकिएको हो।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालतको धरौटी फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेका रविलाई चैत २२ गते उच्च अदालत तुलसीपुरको पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो।
रुपन्देही जिल्ला अदालतले रविसँग सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटी मागेको थियो। उनी धरौटी बुझाएर अदालतबाट तारेखमा छुटेका थिए।
तर, गत फागुन २६ मा जिल्ला अदालतको फैसला बदर माग्दै उच्च अदालत तुलसीपुरमा दिएको रिटमाथिको सुनुवाइमा रविलाई थुना पठाउने आदेश दिएको थियो।
उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले चैत २२ मा रविलाई जिल्ला अदालत रुपन्देहीबाट गरिएको फैसला उल्टाउँदै थुना पठाउने आदेश जारी गरेको थियो।
उच्च अदालतको आदेशविरुद्ध रविले यसअघि सर्वोच्चमा चैत २९ गते रिट दर्ता गराएका थिए।
सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले चैत ३१ मा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको निर्णयको कैफियत प्रतिवेदन मागेको थियो।
उक्त प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्न सक्ने आदेश दिने वा नदिने निर्णय गर्नेछ।
उच्च अदालत तुलसीपुरको आदेशसँगै रविलाई गत चैत २५ देखि भैरहवा कारागारमा छन्।