काठमाडौं। राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले दोलखा जिल्लाका विभिन्न विकास आयोजना र पूर्वाधार योजनाका लागि बजेट विनियोजन नगरिएको भन्दै अर्थमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका छन्।
राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै रिजालले दोलखाका जनताले आफूलाई सोध्न आग्रह गरेका प्रश्नहरू सदनमार्फत अर्थमन्त्रीसमक्ष राखेका हुन्। उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने दोलखा फिल्म सिटी र जिरी तालजस्ता योजनाका लागि बजेट नछुट्याइएको विषयमा प्रश्न उठाए।
उनले अघिल्लो सरकारले बजेट व्यवस्था गरेको विश्वशान्ति बुद्ध पार्कको बजेट किन कटौती गरियो भन्ने प्रश्न गर्दै सरकारले दोलखाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा नराखेको आरोप लगाए। त्यस्तै, चरिकोटमा निर्माणाधीन एकमात्र बसपार्कका लागि समेत बजेट व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
रिजालले खरिढुङ्गास्थित ओरियन्ट म्याग्नेसाइट उद्योग सञ्चालनका लागि कुन शीर्षकमा बजेट छुट्याइएको छ भन्ने प्रश्न पनि गरे। साथै, लापिलाङ क्षेत्रमा रहेको भिषण पहिरो नियन्त्रणका लागि बजेट नहुनुको कारणबारे सरकारसँग जवाफ मागे।
उनले दोलालघाट–चर्नावती सुरुङमार्ग अध्ययनका लागि केवल १८ लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै यति न्यून रकमले अध्ययन कार्य प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताए। सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पर्याप्त बजेट किन नछुट्याइएको हो भन्ने प्रश्न पनि उनले उठाए।
मन्तव्यको अन्त्यमा रिजालले दोलखावासी जनताको भावना व्यक्त गर्दै आगामी निर्वाचनमा सत्तारुढ दललाई दोलखाली जनताको मत आवश्यक छ कि छैन भन्ने प्रश्नसमेत गरे। उनले अर्थमन्त्रीबाट दोलखाका जनताले स्पष्ट र चित्तबुझ्दो जवाफ पाउने अपेक्षा रहेको बताए।
रिजालले दोलखाको पर्यटन, उद्योग, पूर्वाधार र विपद् व्यवस्थापनसँग सम्बन्धित योजनामा पर्याप्त बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।