काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.२ प्रतिशत योगदान पु¥याएको प्रारम्भिक अनुमान गरिएको छ। यो योगदान अघिल्लो दुई आर्थिक वर्षको तुलनामा केही उच्च हो।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान आर्थिक वर्ष २०७९/८० मा २४ प्रतिशत थियो। त्यसपछि, आर्थिक वर्ष २०८०/८१ मा बढेर २४.७ प्रतिशत पुग्यो र चालु आवमा थप वृद्धि भई २५.२ प्रतिशत पुगेको छ। यसले समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा बढ्दै गएको स्पष्ट हुन्छ।
सकारात्मक परिवर्तनमा सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता, समयमै मल बीउको उपलब्धता, प्रविधिको प्रयोगमा वृद्धि र किसानहरूले गरेको अथक प्रयासको महत्वपूर्ण भूमिका रहेको छ। जलवायु परिवर्तनका चुनौतीहरू र अन्य विभिन्न समस्याहरूका बाबजुद पनि कृषि क्षेत्रले देखाएको यो प्रगति उत्साहजनक छ। वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले यो वर्ष धान बालीको उत्पादन बढेकाले जीडीपी बढेको बताए।
उनले यसका साथै अन्य सहयक बाली पनि वृद्धि भएको जनाए। यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो। चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यो क्षेत्रफल भने गत आवको १.२८ प्रतिशतले कमी हो। मन्त्रालयका अनुसार यो वर्ष उत्पादकत्व बढेको छ।
यो वर्ष औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगेको छ। जुन हालसम्मकै उच्च हो। समग्रमा चैते धानको उत्पादकत्व वर्षेकोभन्दा बढी देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै, चालु आर्थिक वर्षमा वर्ष धान, तेलहन, दलहन, तरकारी तथा पशुपन्छीजन्य उत्पादन (जस्तैः दूध, अण्डा, माछा, मासु) मा सकारात्मक वृद्धि हुने देखिएकाले समग्र क्षेत्रको वृद्धिमा सहयोग पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार, कृषि क्षेत्रको वृद्धिदर पनि सकारात्मक छ। चालु आवमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत रहेको छ। यद्यपि, यो वृद्धिदर गत आर्थिक वर्ष २०८०/८१ को ३.३५ प्रतिशत र त्यसअघिको आर्थिक वर्ष २०७९/८० को ३.०२ प्रतिशतको तुलनामा केही कम हो। तर पनि, लगातारको सकारात्मक वृद्धिले कृषि क्षेत्र स्थिर रूपमा विकास भइरहेको संकेत गर्दछ।
उत्पादन वृद्धि, बजारीकरणको व्यवस्थापन, सिँचाइ सुविधाको विस्तार र युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने नीतिहरू ल्याउनुपर्ने देखिन्छ। साथै, कृषि अनुसन्धान र विकासमा थप लगानी गरी नयाँ प्रविधि र उन्नत जातका बीउहरूको विकास गर्नुपर्ने आवश्यकता छ।
कृषिको योगदान सबैभन्दा धेरै
नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रले अन्य सबै क्षेत्रलाई उछिनेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार, कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत रहेको छ, जुन अन्य कुनै पनि क्षेत्रको तुलनामा धेरै उच्च हो।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार, जीडीपीमा थोक तथा खुद्रा व्यापार क्षेत्रको रहेको छ, जसको हिस्सा १४.५५ प्रतिशत छ। त्यसपछि घरजग्गा कारोबार ८.२९ प्रतिशत, सार्वजनिक प्रशासन ८.७२ प्रतिशत, शिक्षा ७.८७ प्रतिशत र यातायात तथा भण्डारण ७.२० प्रतिशत योगदान छ।
यस तथ्यांकले नेपाली अर्थतन्त्र अझै पनि कृषिमा आधारित रहेको स्पष्ट देखाउँछ। अधिकांश जनसंख्या कृषिमा आश्रित रहेको र यस क्षेत्रले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेकोले पनि यसको महत्व अझ बढेको छ।
कृषि क्षेत्रको यो महत्वपूर्ण योगदानको पछाडि सरकारले लिएका कृषिमुखी नीतिहरू, किसानहरूको अथक प्रयास र समयमै भएको मल बीउको उपलब्धता जस्ता कारणहरू रहेका छन्। यसका साथै, प्रविधिको बढ्दो प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पु¥याएको छ।
कृषि क्षेत्रले जीडीपीमा ठूलो योगदान दिए पनि यस क्षेत्रमा अझै धेरै चुनौतीहरू विद्यमान छन्। जलवायु परिवर्तनको असर, सिँचाइको अभाव, बजारीकरणको समस्या र युवा जनशक्तिको कमी जस्ता विषयहरूलाई सम्बोधन गर्न आवश्यक रहेको वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलको भनाई छ।
कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सकेमा यसको योगदान अझ बढाउन सकिन्छ। यसका लागि सरकारले दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ। कृषि अनुसन्धानमा लगानी वृद्धि, प्रविधि हस्तान्तरण र किसानहरूलाई आवश्यक तालिम तथा सहयोग प्रदान गर्नुपर्ने देखिन्छ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको यो उच्च योगदानले खाद्य सुरक्षा र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्न सक्ने विज्ञहरूको भनाइ छ।