खोटाङ। पाकेर थन्क्याउनै लागेको धानबालीमा अविरल वर्षाले क्षति गरेपछि जिल्लाका कृषक चिन्तित बनेका छन्।
तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले जिल्लाका दसवटै स्थानीय तहमा पाकेर थन्क्याउन लागिएको धानबालीमा क्षति गरेपछि कृषक चिन्तित भएका हुन्।
पाकेर थन्क्याउन लागिएको धानबालीमा वर्षाले क्षति गरेपछि भोकमरीमा पर्ने अवस्था आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका कृषक चेतनाथ आचार्यले बताए। ‘मैले यस वर्ष ३५ रोपनी खेतमा धानबाली लगाएको थिएँ। पाक्न लागेको अवस्थामा सबै ढलेर सोतर भएको छ’, उनले भने, ‘प्रमुख बालीको रूपमा लगाउँदै आएको धान सबै ढलेर सोत्तर भएपछि भोकमरीमा पर्ने निश्चित भएको छ। यसप्रति सरकारले ध्यान दिन जरुरी छ।’
कृषकले लगाएको धानबाली पाकेर पहेंलपुर भएपछि थन्क्याउन लागिएको अवस्थामा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए।
‘यस वर्ष रोपाइँ गर्न समयमा वर्षा भएको थियो । समयमै रोपाइँ भएकाले उत्पादन पनि वृद्धि हुने अनमान गरिएको थियो । तर, केही दिनदेखि परेको अविरल वर्षाले ठूलो क्षति गरेको छ’, उनले भने, ‘क्षति विवरण जुटाउने काम भइरहेको छ। अहिले नै यति क्षति भयो भन्न सकिने अवस्था छैन।’
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९ हजार ९८८ दशमलव ०३ हेक्टर जमिनमा धानखेती गर्ने गरिएको छ। विभिन्न प्रजातिका धान खेती हुँदै आएको जिल्लामा यस वर्ष २५ हजार ६४९ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको थियो।
तर, पाकेर थन्क्याउन लागिएको अवस्थामा लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरेपछि उत्पादनमा गिरावट आउने निश्चित भएको कृषकले बताएका छन्।
जिल्लाका अधिकांश कृषकले पाकेर पहेँलपुर भएको धानबाली थन्क्याउनका लागि ढालेर खेतमै सुकाएका थिए। वर्षभरि उपभोग गर्नका लागि थन्क्याउन ढालेर खेतको आँठामा सुकाइएको धानको पाँजा लगातारको वर्षाले डुबाएको कृषकले जनाएका छन्।
लगातारको वर्षाले धानबालीमा ठूलो क्षति गरे पनि गहुँ, फलफूल, सागसब्जीलगायतका हिउँदेबालीलाई केही राहत मिलेको कृषकको भनाइ छ।
यद्यपि, धानबाली जिल्लाको प्रमुख बाली भएकाले अविरल वर्षाका कारण धानबालीमा ठूलो क्षति हुँदा यस वर्ष जिल्लामा भोकमरी हुने निश्चित भएको बताइएको छ।
म्याग्देली किसानलाई धान भित्र्याउन वर्षा बाधक
खेतमा पाकेको धान भित्र्याउने समय भएको वर्षाका कारण म्याग्दीका कृषक चिन्तित बनेका छन्।
दसैंतिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरिले प्रभावित बनाएको हो। म्याग्दीका खेतमा धान र बारीमा कोदो पाकेर भित्र्याउने समय भएको छ।
खेतबारीमा रहेको धानकोदो वर्षासँगै हावाहुरीले लडाउँदा उत्पादनमा असर पर्नुका साथै भित्र्याउनका लागि काटेर सुकाएको बाली र नलपराल पानीले भिजेपछि चिन्तित भएको मङ्गला गाउँपालिका–२ रणवाङका कृषक लक्षिन बहादुर मल्लले बताए।
मङ्गला गाउँपालिका–२ सिमका कृषक ध्रुब खत्रीले वर्षातका कारण खेतमा पाकेको धान काट्न नपाएको उनको भनाइ छ। गत वर्ष १०० मुरी धान फलाएका खत्रीले यसपालि उत्पादन घट्ने बताए। कतिपय कृषकले काटेको धान खेतमै पानीले भिजेको छ।
पानीले खेतमै धान र पराल कुहिने चिन्ता कृषकलाई छ।
रोप्ने समयमा पर्याप्त वर्षा भएको, रोग, किरा नदेखिएको र तिहार अघिसम्मको मौसम अनुकूल हुँदा धानको उत्पादन बढ्ने कृषकको अपेक्षा थियो। माथिल्लो क्षेत्रका कृषकले स्थानीय जातको धान दसैँ र तिहारबीचमा भित्र्याएका थिए।
बेंसीका खेतमा तिहारलगत्तै धान काट्न थालेका थिए। जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
कृषि ज्ञान केन्द्र, म्याग्दीका अनुसार गत वर्ष भएकामा १२ हजार ९७८ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको थियो। ४६ हजार ५९१ मेट्रिक टन उत्पादन भएको थियो।
जिल्लामा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण तीन, खुमल चार, खुमल १०, लुम्ले दुईलगायतका उन्नत जातका धानखेती हुने गर्दछ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती गर्छन्।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुने गरेको छ।
रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धान खेती हुँदै आएको छ।
यी क्षेत्र धान उत्पादनको हिसाबले पकेट क्षेत्र मानिन्छन्।
धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बोटमै भएको धानलाई वर्षाले असर नगर्ने बताए।–रासस