काठमाडौं। बिहीबार देशका अधिकांश स्थानमा एकसाथ विद्युत आपूर्ति बन्द भयो। कुनै ठाउँमा झ्यापझ्याप बत्ती जाने आउने र कुनै ठाउँमा साढे २ देखि ३ घण्टासम्म विद्युत अवरोध भयाे।
त्यसाेहुनुमा नेपाल विद्युत् प्राधिकरणले ४०० केभी ढल्केबर मुजफ्परपुर प्रसारण लाइनको भारततर्फ आएको समस्याले काठमाडौंलगायत मध्य र पूर्वी नेपालमा विद्युत् कटौती भएको जनाएको छ। भारतबाट विद्युत् आयात भइरहेको लाइनमा समस्या भएपछि आपूर्तिमा समस्या भएको हो।
ढल्केबर क्षेत्रमा बिहीबार साँझ हावाहुरी आउँदा सो क्षेत्रको ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किटको तल्लोतार चुँडिएका कारणले विद्युत आपूर्ति रोकियो।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलन गरी विद्युतीय पूर्वाधार, उपकरण र नेटवर्कको कमजोरीले विद्युत् आपूर्तिमा समस्या आइरहेको बताए। उनले उत्पादनसँगै माग र प्रणाली बढ्दै जाँदा पूर्वाधार कमजोर भएकै कारण आपूर्तिमा समस्या भएको दाबी गरे।
‘हाल देशभरको विद्युत माग २००० मेगावाट छ, तर हामीसँगको उत्पादन १२०० मात्रै छ,’ उनले भने।
विद्युत् माग र आपूर्तिमा सन्तुलन मिलाउनुपर्ने उनले बताएका छन्। जसका लागि भारतबाट विद्युत् आपूर्तिले सन्तुलन भइरहेको बताए।
जलवायु परिवर्तनले सानो क्षेत्रमा हावाहुरी र वर्षाका कारणले पनि विद्युत् आपूर्ति प्रभावित हुने घटना भएको जानकारी गराए। ‘हिजो केही घण्टा प्राविधिक समस्याले बिजुली काटिनु कुनै लोडसेडिङ होइन,’ उनले भने, ‘फेरि झ्यापझ्याप बत्ती गयो इन्भर्टर र व्याट्रीको खोजीको विषय सामाजिक सञ्जालमा आएको छ। यसको भ्रममा नपर्नुहोस्।’
उनले प्रसारण लाइन सञ्जाल द्रुतगतिमा बढाउन नसकेमा बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित भइरहने जनाए।
शाक्यले विद्युत प्रणालीमा आएको समस्या समाधान गर्न समय लाग्ने बताए। ‘यस्ता प्राविधिक कठिनाइ आजको भोलि सुधार हुँदैन। यस्ता कमजोर अवस्था आउन समय लाग्छ र सुधार गर्न नि समय लाग्छ।’ उनले भने।
उनले विद्युत् उत्पादन बढदै गए पनि सोहीअनुसार प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्ति प्रभावित बनेको बताएका छन्। विद्युत संरचना कमजोर भएकाले विद्युत् आपूर्तिमा समस्या देखिएको शाक्यको दाबी छ।
‘अहिले हामी विक लिंकमा पुगेका छौं। जहाँ–जहाँ विक लिंक भेटिन्छ, त्यहाँ–त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले भने।
उनका अनुसार प्राधिकरणको पूर्वाधार,उपकरण र नेटवर्कको कमजोरीले विद्युत प्रवाहमा समस्या देखिरहेको छ। विद्युत माग बढदै जाने र संरचना नबनेकाले विद्युत अवरोधको समस्या हुने उनकाे दाबी छ। उनले प्रसारण लाइन सञ्जाल द्रुतगतिमा बढाउन नसकेमा बिहीबार रातिको जस्तो सानो–सानो घटनामा पनि विद्युत् आपूर्ति प्रभावित भइरहने जनाए।
हालै मात्र प्राधिकरणले सार्वजनिक गरेको स्वेतपत्रमा हाल निर्माणधीन वितरण लाइन, सबस्टेसन तथा अन्य आयोजनाहरु तयार गर्नका लागि करिब ३० अर्ब ५५ करोड रकम खाँचो रहेको उल्लेख गरिएको छ।
‘अहिले सोचेअनुरूपमा विद्युतीय पूर्वाधारमा लगानी हुन सकेको छैन। लगानी भएको ठाउँमा पनि स्थानीयको अवरोध,वनको समस्यालगायत विविध कारणले काम राम्रोसँग हुन सकेको छैन,’ उनले भने, ‘प्राधिकरणको संरचनामा लगानी गर्नुपर्ने अवस्था छ। यतिबेला प्राधिकरणसँग पैसा नभएर काम रोकिने हो भने ऊर्जा क्षेत्रमा ठूलो समस्या र संकट ल्याउँछ। जुन रुपमा उत्पादन बढ्दै गर्दा प्रसारण नेटवर्क बनाउन सकेनौं भने स–साना घटनामा ट्रिप भइरहने अवस्था आउँछ।’
हाल प्राधिकरणसँग नेपाल विद्युत प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ। आर्थिक वर्ष २०८०/०८१ सम्म स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब छ। निर्माणाधीन आयोजना करिब २ खर्ब २० अर्ब बराबरको रहेको सो स्वेतपत्रमा उल्लेख छ।